`

निर्मला कुर्मी प्रकरणमा न्याय माग्दै : छैटौं पटक अनशनमा रूबी

Nepal One HD २७ वैशाख २०८३ १४:३४
अपराध

काठमाडौं। बाँकेकी निर्मला कुर्मीको हत्या प्रकरणमा न्यायको माग गर्दै अधिकारकर्मी रुबी खान पछिल्लो १३ दिनदेखि जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा अनिश्चितकालीन अनशनमा बसेकी छन्। यो उनको छैटौं पटकको अनशन हो।

उनका अनुसार निर्मलाको हत्यामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न बारम्बार माग उठाइए पनि राज्य पक्षले गम्भीरता नदेखाएको आरोप छ। सहमति भए पनि कार्यान्वयन नहुँदा फेरि आन्दोलनमा उत्रिनुपरेको उनले बताएकी छन्।

निर्मला कुर्मी प्रकरणमा सरकारसँग पाँच पटकसम्म सहमति भएको भए पनि कुनै पनि सहमति कार्यान्वयन नभएको रुबीको भनाइ छ। २०८२ फागुन २१ को निर्वाचनपछि मुद्दा अदालत लैजाने भनिए पनि प्रक्रिया अघि नबढेपछि पुनः अनशन बस्नुपरेको उनले स्पष्ट पारेकी छन्।

९ बुँदे माग अघि सार्दै आन्दोलन

रुबीले कर्तव्य ज्यान मुद्दा, गुडिया प्रकरण र अन्य सम्बन्धित घटनामा तत्काल निष्पक्ष अनुसन्धान गरी अदालतमा लैजानुपर्ने माग राखेकी छन्। साथै, उपचार अभावमा मृत्यु भएका नाबालक दिपेश चमारको मुद्दामा थप अनुसन्धान गर्नुपर्ने माग पनि उनको सूचीमा छ।

उनले राज्यले पीडित पक्षलाई न्याय दिन ढिलाइ गरिरहेको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाएकी छन्।

 के हो घटना ?

निर्मला कुर्मी नेपालगञ्ज उपमहानगरपालिका-१७ परस्परकी बासिन्दा थिइन्। उनको २०७७ सालमा रहस्यमय मृत्यु भएको थियो। त्यसअघि उनका श्रीमानको २०६२ सालमा निधन भएको थियो।

श्रीमानको मृत्युपछि करिब ४ बिघा १० कट्ठा जमिनमा विवाद सुरु भएको र भूमाफियाको चासो बढेको आरोप छ। पछि २०६६ सालमा उनका दुई छोराहरूको पनि रहस्यमय मृत्यु भएको बताइन्छ।

निर्मलाले सम्पत्ति हडप्ने प्रयास र दुर्व्यवहारको आरोपसहित उजुरी दिए पनि प्रभावकारी कारबाही नभएको दाबी अधिकारकर्मीहरूको छ।

२०७५ सालमा निर्मला बेपत्ता भएकी थिइन्। त्यसपछि दुई वर्षपछि उनको मृत्यु भएको खबर सार्वजनिक भयो। २०७७ सालमा अधिकारकर्मीहरूले बादशाह कुर्मीमाथि अपहरण र हत्याको आरोपसहित प्रहरीमा उजुरी दिएका थिए।

तर अनुसन्धान अघि नबढेको भन्दै आन्दोलन अझै जारी छ।

निर्मला कुर्मीको न्यायका लागि अधिकारकर्मीहरूले यसअघि काठमाडौंसम्म पैदल यात्रा गरेर अनशनसमेत गरेका थिए। तर न्याय नपाएपछि रुबी खान पुनः बाँकेमै अनिश्चितकालीन अनशनमा बसेकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *