सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जोखिमपूर्ण ठाउँमा बसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।
रास्वपाको पार्टी–संसद्–सरकार समन्वय समितिले आज यहाँ आयोजना गरेको विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी ‘नीति मन्थन’ कार्यक्रममा सभापति लामिछानेले खोला किनारमा बाढी र पहिरोको जोखिममा रहेका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर व्यवस्थापन गरिएको बताउनुभयो ।
“सरकारले निकै द्रूत गतिमा भूमिहीनको हकअधिकार प्रदान गर्दैछ, जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाई त्यहीँ राखिरहेर ठिक गरियो कि, त्यसलाई समाधान गर्न कदम चालेर ठिक गरियो ?” सभापति लामिछानेले प्रश्न गर्नुभयो । जोखिमपूर्ण क्षेत्रका स्थानन्तरण गरिएका नागरिकको व्यवस्थापनलाई चुस्त र मानवीय बनाउन सरकार कटिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।
सभापति लामिछानेले नागरिकको भावनासँग जोडिएको विषयलाई राजनीतिक हतियार बनाउनु गलत भएको बताउनुभयो । “तीसौँ वर्षदेखि खोलाको छेउमा दुर्गन्ध र अस्वस्थता तथा असुरक्षाका बीच नागरिकले रात काटेको विषयमा त्यति धेरै चिन्ता भएन, तर त्यसलाई व्यवस्थित ढङ्गबाट समाधान गर्न सरकारले चालेको कदमका बारेमा असंवेदनशील भएर टिप्पणी गरिनु न्यायसङ्गत भएन”, उहाँले भन्नुभयो ।
भोटका लागि राजनीति गर्ने युगबाट सम्पूर्ण राजनीतिक दल बाहिर निस्कनुपर्नेमा जोड दिँदै सभापति लामिछानेले जोखिममा रहेका नागरिकको जीउधनको रक्षा गर्न सत्ता पक्ष र प्रतिपक्ष विभाजित हुन नहिुने बताउनुभयो । “नदी किनारमा, ढल बगेको ठाउँमा, प्रदूषणको सामुन्ने ३०औँ वर्ष बिताउँदा कति नागरिकको अल्पायूमै ज्यान गयो होला र कतिको भविष्य अन्धकार भयो होला ? आज त्यसका बारेमा चासो दिइयो ?”, उहाँले प्रश्न गर्नुभयो ।
सभापति लामिछानले सीमित स्रोत साधनका बाबजुद विपद् व्यवस्थापनमा उत्कृष्टता प्रदर्शन गरिरहेका निकायको क्षमतालाई एकीकृत गरेर क्षति कम गर्ने प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीका महामन्त्री एवं पार्टी–संसद्–सरकार समन्वय परिषद्का संयोजक भूपदेव शाहले बर्सेनि प्राकृतिक विपद्का कारण हुने मानवीय र भौतिक क्षति कम गर्न सघाउ पु¥याउने उद्देश्यले नीति मन्थन आयोजना गरिएको बताउनुभयो ।
“पार्टी, संसद् र सरकारबीच आवश्यक समन्वय नभएको अवस्थामा नीति एकातिर र नियती अर्कातिर हुन्छ”, उहाँले भन्नुभयो, “आजको नीति मन्थलले यी तीन निकायबीचको समन्वयलाई थप कसिलो बनाउनेछ ।”
छलफलबाट आएका निष्कर्ष र सुझाव सांसदहरुका लागि प्रमाण, मन्त्रीका लागि कार्ययोजना बनाउने मार्गचित्र बन्ने महामन्त्री शाहको भनाइ थियो । “विपद् आउँदा हारगुहार गर्ने प्रवृत्तिलाई पूर्वसतर्कता र पूर्वतयारीमा बदल्नुपर्छ”, उहाँले भन्नुभयो, “रास्वपाले आफ्नो साङ्गठनिक संरचनालाई निर्वाचन जित्न मात्रै नभई सङ्कटमा नागरिकको सारथी बन्नका लागि तयार पारेको हो ।”पार्टीमा आबद्ध स्वयंसेवकलाई विपद्का समयमा उद्धार र राहतका लागि स्थानीयस्तरमै परिचालन हुन सक्ने गरी प्रशिक्षित बनाइने उल्लेख गर्दै संयोजक शाहले सूचना प्रवाह र सञ्चारमा स्थानीय संयन्त्रले पूर्वचेतावनी प्रणालीका रुपमा काम गर्ने बताउनुभयो ।
छलफलबाट प्राप्त हुने सुझावका आधारमा आगामी मनसुनमा बाढीपहिरो र सरुवा रोगबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सरकारलाई रचनात्मक सहयोग गर्ने उहाँको भनाइ थियो ।
