साढे आठ वर्षपछि ‘मितज्यू’मा ‘सौगात’सँग ‘दयाहाङ’
काठमाडौं। करिब साढे आठ वर्षअघि तयार भएको स्क्रिप्ट अन्ततः अब ठूलो पर्दामा आउने भएको छ। अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘मितज्यू’ जेठ ८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ। फिल्मले हराउँदै गएको मित संस्कृतिलाई मुख्य विषय बनाएको छ।
फिल्मले पारिवारिक सम्बन्ध, मित्रता र जीवन संघर्षको कथा प्रस्तुत गर्ने बताइएको छ।
फिल्मका प्रमुख अभिनेता दयाहाङ राईका अनुसार ‘मितज्यू’ केवल मितेरी सम्बन्धमा मात्र केन्द्रित नभई गाउँदेखि सहरसम्मको जीवन यथार्थ समेटिएको कथा हो। उनले भने, ‘यो सम्बन्धको कथा हो। परिवार, मित्रता र पेशागत जिम्मेवारीबीचको संघर्ष,’ साथै उनका अनुसार तीन चालकको जीवनमार्फत कथा अगाडि बढ्छ।
दयाहाङसँगै फिल्ममा सौगात मल्ल र शिशिर वाङ्देल पनि प्रमुख भूमिकामा देखिनुहुनेछ। उनीहरू गाडी चालकको भूमिकामा प्रस्तुत हुनेछन्, जहाँ प्रत्येक पात्रको आफ्नै कथा र पृष्ठभूमि रहेको दयाहाङले बताए।
अभिनेता राईका अनुसार ‘मितज्यू’को स्क्रिप्ट करिब साढे आठ वर्षअघि नै उनको हातमा पुगेको थियो। निर्माता जनक घर्ती मगर र निर्देशक अनिल मगरले त्यतिबेला नै उनलाई यो परियोजनाका लागि प्रस्ताव गरेका थिए। उनले सम्झिँदै भने, ‘कथा मन परेको थियो, तर त्यो समयमा आफूले न्याय गर्न सक्छु कि सक्दिनँ भन्ने अन्योल थियो।’
बीचमा विभिन्न कारण, विशेषगरी कोभिड महामारीका कारण परियोजना रोकिए पनि समय मिलेसँगै स्क्रिप्ट पुनः अघि बढाइएको र अन्ततः आफू जोडिएको उनले बताए।
उनका अनुसार फिल्ममा उनको भूमिका अघिल्ला फिल्मभन्दा फरक छ। उनले भने, ‘म बाहिरी अभिनयभन्दा पात्रको भित्री मनोविज्ञानसँग काम गर्न रुचाउँछु। यसपटकको पात्र गहिरो छ, मेरो आफ्नै अनुभवभन्दा फरक भए पनि समाजसँग जोडिएको छ।’
सह-अभिनेता सौगात मल्लसँगको सहकार्यबारे बोल्दै उनले यस फिल्ममा उनीहरूको सम्बन्ध अघिल्ला फिल्मभन्दा फरक रहेको बताए। फिल्ममा नव अभिनेत्री टेरिया फौजा मगर पनि देखि हुनेछिन्। उनलाई नयाँ भए पनि समर्पित कलाकारका रूपमा पाएको उनले खुलाए।
उनले भने, ‘कलाकार भएपछि नयाँ-पुरानो भन्ने हुँदैन, सबै कुरा पात्र र कथामा निर्भर हुन्छ।’
फिल्मको शीर्षकसँग जोडिएको मित संस्कृतिबारे दयाहाङको व्यक्तिगत अनुभव भने सीमित रहेको छ। उनले भने, ‘मैले व्यक्तिगत रूपमा मित लगाएको छैन, तर यसको सामाजिक महत्वबारे सुन्दै आएको छु। पहिले झगडा मिलाउन पनि मित लगाउने चलन थियो।’
