आजै साँझ ७ एसइईको नतिजा सार्वजनिक हुँदै
काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आजै सार्वजनिक गर्ने तयारी गरिएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार आज साँझ ७ बजे नतिजा सार्वजनिक गर्ने तयारी छ । त्यसका लागि साँझ ५ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिएका छन् ।
नतिजा सार्वजनिक भएपछि परीक्षार्थीहरूले एसएमएस, आइभीआर र विभिन्न वेबसाइटमार्फत सहज रूपमा आफ्नो नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।
यस वर्ष नियमित तथा ग्रेडवृद्धि दुवै परीक्षाको नतिजा डिजिटल माध्यमबाट उपलब्ध गराइनेछ । परीक्षार्थीहरूले घरमै बसेर आफ्नो प्राप्तांक र मार्कसिट हेर्न सक्नेछन् ।
एसएमएसमार्फत नतिजा हेर्न चाहनेहरूले नेपाल टेलिकमको १६०० मा डायल गरेर वा एसएमएस पठाएर नतिजा प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९ मा पनि एसएमएस पठाएर नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।
नतिजा हेर्नका लागि बोर्डका आधिकारिक वेबसाइट ‘डब्लुडब्लुडब्लु डट एसइई डट जिओभी डट एनपी’ र ‘डब्लुडब्लुडब्लु डट एनइबी डट जिओभी डट एनपी’ प्रयोग गर्न सकिनेछ ।
यसका साथै नेपाल टेलिकम, कान्तिपुर पब्लिकेसन्स, इडियु सञ्जाल, खल्ती एप, निमा एजुकेशन, फोनिक्स एजुकेशन, एम्बिसन गुरु, मेरो स्टडी र इन्द्रेणी टाइम्सलगायतका पोर्टलबाट पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले आधिकारिक माध्यमबाट मात्रै नतिजा हेर्न र भ्रममा नपर्न सबै परीक्षार्थी तथा अभिभावकलाई आग्रह गरेको छ ।
