तामाङ दाजुभाइको हत्या आरोपमा छ जना पक्राउ
काठमाडौं । नुवाकोटमा दाजुभाइको हत्या आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ। म्यागङ गाउँपालिका-४ किम्ताङस्थित जंगलमा बुधबार मृत फेला परेका सोमनाथ तामाङ (४३) र उनका भाइ सूर्यमान तामाङ (३६)को हत्या प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार प्रारम्भिक अनुसन्धानका लागि करिब आधा दर्जन व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
‘दाजुभाइको हत्या प्रकरणमा संलग्न भएको आशंकामा छ जनालाई पक्राउ गरी विस्तृत अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘घटना कसरी भयो, कस–कसको संलग्नता थियो भन्नेबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।’
मंगलबार बिहान कुलो बनाउन घरबाट निस्केका दुवै दाजुभाइ सम्पर्कविहीन भएपछि परिवारले खोजी गरेको थियो। बुधबार बिहान सूचना पाएपछि प्रहरीले खोजतलास गर्दा उनीहरूको शव किम्ताङ खोलामा ढुंगाले थिचेर लुकाइएको अवस्थामा भेटिएको थियो। घटनास्थल नुवाकोट र धादिङको सीमा क्षेत्रमा पर्छ।
प्रहरीलाई आएको प्रारम्भिक जानकारीमा गोली प्रहार भएको भनिए पनि घटनास्थलबाट खुकुरी बरामद भएपछि धारिलो हतियार प्रहारबाट हत्या भएको हुन सक्ने अनुमान गरिएको छ।
हत्या किन र कसले गर्याे भन्नेबारे केही प्रस्ट नभए पनि आर्थिक लेनदेनसम्बन्धी विवाद सम्भावित कारणका रूपमा हेरिएको प्रहरीले जनाएको छ। तर यसको पुष्टि भएकाे छैन ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।
