ज्याकलिन मुछिएको २०० करोड ठगी प्रकरण
मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसले २०० करोड रुपैयाँको मनी लाउन्ड्रिङ मुद्दामा सरकारी साक्षी बन्नका लागि दिएको निवेदन मंगलबार दिल्लीको पटियाला हाउस अदालतबाट फिर्ता लिएकी छन्।
प्रवर्तन निर्देशनालय (ईडी) ले उनको निवेदनको कडा विरोध गरेपछि ज्याकलिनले पछि हट्ने निर्णय गरेकी हुन्। ईडीले उनलाई यस मुद्दामा पीडित नभई अपराधबाट लाभ लिने प्रमुख व्यक्ति भएको दाबी गरेको छ।
सोमबार अदालतमा दायर जवाफमा ईडीले ज्याकलिनको भूमिका सानो नभएको उल्लेख गर्दै उनले मनी लाउन्ड्रिङमार्फत प्राप्त रकमबाट फाइदा उठाएको आरोप लगाएको थियो। उनलाई सरकारी साक्षी बनाउनु कानुनी प्रक्रियाको दुरुपयोग हुने तर्कसमेत ईडीले प्रस्तुत गरेको छ।
ईडीका अनुसार सुकेश चन्द्रशेखरसँगको सम्बन्धबारे जानकारी हुँदाहुँदै पनि ज्याकलिनले निरन्तर सम्पर्क राखेकी थिइन् र अपराधबाट कमाइएको रकमबाट महँगा उपहार तथा सुविधाहरू स्वीकार गरेकी थिइन्। अनुसन्धानका क्रममा उनले पटक–पटक बयान परिवर्तन गरेको र महत्त्वपूर्ण तथ्यहरू लुकाएको आरोप पनि लगाइएको छ।
यो प्रकरण ठग सुकेश चन्द्रशेखरसँग सम्बन्धित हो, जसले र्यानब्याक्सीका पूर्व प्रवर्द्धक शिविंदर सिंह र मलविंदर सिंहकी श्रीमतीहरूबाट करिब २०० करोड रुपैयाँ ठगी गरेको आरोप छ।
ज्याकलिनलाई यस मुद्दामा पूरक आरोपपत्रमार्फत आरोपी बनाइएको छ। यसअघि दिल्ली उच्च अदालत र सर्वोच्च अदालतले पनि उनीमाथिको मुद्दा खारेज गर्ने उनको निवेदन अस्वीकार गरिसकेका छन्।
