`

महावीर पुनले खोजेको मन्त्रालय आयो प्रधानमन्त्री बालेनको काँधमा

Nepal One HD ३१ वैशाख २०८३ १९:१८
बिशेष

काठमाडौं। सरकारले मन्त्रालयहरूको संख्या घटाएर १८ वटामा सीमित गरेपछि मन्त्रीहरूको जिम्मेवारी फेरि एकपटक पुनः हेरफेर गरिएको छ । मन्त्रालयहरूको पुनर्संरचनासँगै नयाँ कार्यविभाजन समेत सार्वजनिक गरिएको हो ।

नयाँ कार्यविभाजनअनुसार यसअघि मन्त्रीहरूले सम्हाल्दै आएका जिम्मेवारीहरू खारेज नभएका वा गाभिएका मन्त्रालयको हकमा यथावत राखिएको सरकारले जनाएको छ । मन्त्रालय संरचना परिवर्तनसँगै प्रशासनिक समायोजनलाई सहज बनाउन यस्तो व्यवस्था गरिएको बताइएको छ ।

यस पुनर्संरचनामा सबैभन्दा ठूलो परिवर्तन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको गठनसँग सम्बन्धित रहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रविधि सम्बन्धी भाग छुट्याएर छुट्टै मन्त्रालय स्थापना गरिएको हो । सो नयाँ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले आफैँसँग राखेका छन् ।

त्यसैगरी प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारी पनि यथावत रूपमा आफैँसँग राखेका छन् । रक्षा मन्त्रालय सुरुदेखि नै प्रधानमन्त्रीको मातहतमा रहेको थियो । यस्तै गृह मन्त्रालयको जिम्मेवारी पनि उनले आफैँ सम्हालेका छन् । गृह मन्त्रालयका जिम्मेवार मन्त्रीले राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले लिएका हुन् ।

यसरी पछिल्लो कार्यविभाजनपछि प्रधानमन्त्री शाहले तीनवटा महत्वपूर्ण मन्त्रालय ‘रक्षा, गृह तथा विज्ञान, प्रविधि र नवप्रवर्तन’ आफैँसँग राखेका छन् ।

सरकारी स्रोतका अनुसार मन्त्रालयहरूको कार्यक्षेत्र पुनः निर्धारण भएपछि प्रशासनिक कामलाई छरितो बनाउन र नीति कार्यान्वयनमा एकरूपता ल्याउन यस्तो व्यवस्था गरिएको हो । 

यद्यपि, एकै व्यक्तिले धेरै मन्त्रालयको जिम्मेवारी सम्हाल्दा कार्यभार बढ्ने र कार्यसम्पादनमा असर पर्नेबारे राजनीतिक वृत्तमा छलफल पनि सुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *