कोलोन क्यान्सर : अस्वस्थकर खानपान छ? सावधान रहनुहोस्
काठमाडौं। ठूलो आन्द्राको क्यान्सर अर्थात कोलोन क्यान्सर आज विश्वभर बढ्दै गएको गम्भीर स्वास्थ्य समस्या हो। यो रोग वंशाणुगत कारणले मात्र नभई जीवनशैली र खानपानसँग पनि प्रत्यक्ष रूपमा सम्बन्धित छ।
निष्क्रिय जीवन बिताउने, मोटोपना भएका, नियमित व्यायाम नगर्ने तथा अत्यधिक धूमपान र मद्यपान गर्ने व्यक्तिहरूमा यस रोगको जोखिम बढी देखिन्छ। त्यस्तै, धुवाँमा सेकेका खानेकुरा जस्तै सेकुवा, सुकुटी, रातो मासु बढी खाने र सागसब्जी तथा रेसायुक्त खानेकुरा कम खाने बानीले पनि ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना बढाउँछ।
ठूलो आन्द्राको क्यान्सर नेपालमा पनि प्रमुख क्यान्सरमध्ये एक मानिन्छ। विश्वमा क्यान्सरबाट हुने मृत्युमा यो रोग फोक्सोको क्यान्सरपछि दोस्रो स्थानमा पर्छ। भने सबैभन्दा धेरै पहिचान हुने क्यान्सरमध्ये तेस्रो स्थानमा पर्दछ। यो रोग प्रायः आन्द्राको भित्री तहमा सानो मासुको डल्लो पोलिप भनिन्छ त्यसबाट सुरु हुन्छ।
सबै पोलिप सुरुमा हानिकारक हुँदैनन् तर समयमै पहिचान गरी हटाइएन भने केही पोलिप क्यान्सरमा रूपान्तरण हुन सक्छन्। त्यसैले पोलिपको समयमै पहिचान र उपचार अत्यन्त आवश्यक हुन्छ।
बढ्दो उमेर इन्फ्लामेटरी बावेल डिजिज जस्ता अवस्थाले पनि ठूलो आन्द्राको क्यान्सरको जोखिम बढाउँछ। धेरैजसो अवस्थामा सुरुवाती चरणमा कुनै स्पष्ट लक्षण देखिँदैन। त्यसैले नियमित स्क्रिनिङ अत्यन्त महत्वपूर्ण मानिन्छ।
४५ वर्ष उमेर पुगेपछि नियमित परीक्षण गर्नु आवश्यक मानिन्छ। रोग बढ्दै जाँदा पेट दुख्ने, पेट फुल्ने, दिसामा रगत देखिने, कब्जियत वा पातलो दिसा हुने, दिसा राम्रोसँग नहुने, अनावश्यक रूपमा तौल घट्ने र लगातार थकान महसुस हुने जस्ता लक्षणहरू देखिन सक्छन्।
ठूलो आन्द्राको क्यान्सर पहिचान गर्न विभिन्न परीक्षणहरू प्रयोग गरिन्छ। कोलोनोस्कोपी, सीटी कोलोनोग्राफी तथा दिसामा रगत परीक्षण प्रमुख विधिहरू हुन्।
त्यस्तै कोलोगार्ड परीक्षणद्वारा दिसामा सम्भावित क्यान्सर कोषिकाको डीएनए जाँच गर्न सकिन्छ। जसको संवेदनशीलता करिब ९२ प्रतिशतसम्म मानिन्छ। अमेरिकन क्यान्सर सोसाइटी को गाइडलाइन अनुसार ४५ वर्ष उमेर पुगेपछि प्रत्येक १० वर्षमा एक पटक कोलोनोस्कोपी गर्नु उपयुक्त हुन्छ। भने दिसाको डीएनए परीक्षण तीन वर्षमा एक पटक गर्न सकिन्छ। उच्च जोखिम भएका व्यक्तिहरूले चिकित्सकको सल्लाहअनुसार अझ छिटो परीक्षण गर्नुपर्छ।
यस रोगबाट बच्न जीवनशैली सुधार गर्नु अत्यन्त आवश्यक हुन्छ। नियमित व्यायाम गर्ने, शरीरको तौल सन्तुलनमा राख्ने, फलफूल, सागसब्जी र रेसायुक्त खानेकुरा दैनिक सेवन गर्ने तथा रातो मासु, बोसोयुक्त र प्रशोधित खानेकुरा कम गर्नु लाभदायक हुन्छ।
धूमपान र मद्यपानबाट टाढा रहनु पनि अत्यन्त महत्वपूर्ण हुन्छ। यी सबै बानीहरूले क्यान्सरको जोखिम कम गर्न ठूलो भूमिका खेल्छन्।
ठूलो आन्द्राको क्यान्सरको उपचार रोगको चरणअनुसार गरिन्छ। शल्यक्रिया, किमोथेरापी र रेडियोथेरापी यसका प्रमुख उपचार विधिहरू हुन्।
समयमै पहिचान र उपचार गर्न सकिएमा यो रोग पूर्ण रूपमा निको हुन सक्ने सम्भावना उच्च हुन्छ। त्यसैले नियमित परीक्षण, सचेत जीवनशैली र समयमै चिकित्सकसँग परामर्श लिनु अत्यन्त महत्वपूर्ण छ।
