`

देशी-विदेशी शक्तिले एमाले नेतृत्व सखाप पार्ने अभियान चलाएको बादलको दाबी

Nepal One HD ३ जेठ २०८३ १५:३७
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले देशी तथा विदेशी शक्तिहरूले पार्टी नेतृत्व र अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी ‘सखाप पार्ने अभियान’ सञ्चालन गरेको दाबी गरेका छन् ।

उनले यस्ता प्रयासहरूलाई गम्भीर रूपमा लिनुपर्ने भन्दै सम्पूर्ण पार्टी पङ्क्तिलाई नेतृत्वको संरक्षणमा जुट्न आह्वान गरेका छन् ।

आइतबार काठमाडौँको बल्खुस्थित मदननगरमा आयोजित ३३औँ मदन-आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले पछिल्ला राजनीतिक घटनाक्रमहरूलाई विशेष दृष्टिले हेर्नुपर्ने बताएका हुन् ।

उनका अनुसार जेनजी आन्दोलनदेखि लिएर सरकारका निर्णय, निर्वाचन प्रक्रिया तथा एमाले अध्यक्षमाथि उठाइएका मुद्दासम्मका घटनाहरू अलग-अलग नभई एउटै शृङ्खलाका हिस्सा हुन् ।

उनले भने, ‘अहिले सरकारले ल्याएको अध्यादेश हेर्नुस्, मन्त्रिपरिषद्ले गरेको निर्णयहरू हेर्नुस्, हाम्रो अध्यक्षको गिरफ्तारीलाई हेर्नुस्, उहाँमाथि लगाइएका मुद्दाहरूको प्रकृतिलाई हेर्नुस् । यी सबै घटनाहरू के हुन् ? यी सबै घटनाहरू दासढुंगा घटनाकै निरन्तरता हुन् । त्यसैको एउटा शृङ्खलाको रूपमा हामीले बुझ्नुपर्दछ । त्यसैले आज नेकपा एमालेको पछाडि एउटा गम्भीर कार्यभार उपस्थित भएको छ ।’

थापाले देशी-विदेशी शक्तिहरूले एमाले र यसको नेतृत्वलाई कमजोर बनाउने उद्देश्यसहित निरन्तर प्रयास गरिरहेको आरोप पनि लगाए । उनका अनुसार पार्टीलाई समाप्त पार्ने उद्देश्यले विभिन्न तहबाट दबाब र आक्रमण भइरहेको छ ।

उनले थपे, ‘यी सबै घटनाक्रमहरूले हामीलाई के संकेत गरेका छन् भने नेकपा एमाले र यसको नेतृत्वलाई समाप्त पार्ने, सखाप पार्ने अभियान सञ्चालन गरिएको छ । त्यसको विरुद्ध पार्टी पंक्ति एकजुट भएर नेतृत्वको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ ।’

उपाध्यक्ष थापाले पार्टीमाथि भइरहेका यस्ता दबाब र आक्रमणका बीच सचेत, संगठित र दृढ भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै नेतृत्व र पार्टीको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *