प्रधानमन्त्री बालेनविरुद्व बुटवलमा सुकुम्बासीको व्यापक प्रदर्शन (भिडियो)
काठमाडाैं। वैकल्पिक पुनर्वासको व्यवस्था नगरी घरटहरा भत्काइएको विरोधमा अव्यवस्थित बसोबासी तथा भूमिहीनहरूले बुटवलमा विशाल प्रदर्शन गरेका छन् । रुपन्देहीसहित देशका २२ भन्दा बढी जिल्लाबाट आएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सहभागितामा भएको प्रदर्शनले बुटवल क्षेत्र दिनभर प्रभावित बनेको थियो ।
प्रदर्शनकारीहरूले सरकारले गरिब तथा सुकुम्बासी बस्तीमाथि जबर्जस्ती हटाउने अभियान सञ्चालन गरेको आरोप लगाउँदै तत्काल डोजर अभियान रोक्न माग गरेका छन् । उनीहरूले पुनर्वास, वैकल्पिक आवास र दीर्घकालीन व्यवस्थापनको स्पष्ट योजना बिना नागरिकलाई विस्थापित गर्नु अमानवीय र अन्यायपूर्ण भएको बताएका छन् ।
प्रदर्शन अवधिभर सुरक्षा व्यवस्थाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । आयोजक संघर्ष समितिका अनुसार कार्यक्रममा करिब ३० हजारभन्दा बढी प्रदर्शनकारी सहभागी भएका थिए । सहभागीहरूले विभिन्न नाराबाजी गर्दै राज्यको नीति केवल हटाउनेतर्फ केन्द्रित भएको र त्यसले सामाजिक न्याय, मानव अधिकार तथा नागरिक सुरक्षामाथि प्रश्न उठाएको बताएका थिए ।
प्रदर्शनकारीहरूको भनाइमा सार्वजनिक जग्गा संरक्षण आवश्यक भए पनि दशकौँदेखि बसोबास गर्दै आएका नागरिकलाई कुनै विकल्प नदिई एकैपटक हटाउनु समाधान नभई झन् ठूलो सामाजिक संकट निम्त्याउने कार्य हो । उनीहरूले वैकल्पिक व्यवस्था नगरी गरिने हटाउने अभियानले गरिब तथा कमजोर समुदायमा असुरक्षा, बेरोजगारी र सामाजिक अस्थिरता बढाउने बताएका छन् ।
संघर्ष समितिका सल्लाहकार विरेन्द्र विकले उचित पुनर्वास योजना बिना सञ्चालन गरिएको अभियानबाट देशभर करिब १२ लाख परिवार प्रभावित भएको दाबी गरे । उनका अनुसार यसबाट प्रत्यक्ष रूपमा झन्डै ५० लाख नागरिक प्रभावित भएका छन् । उनले यसले सामाजिक संरचना, स्थानीय अर्थतन्त्र र नागरिकको जीविकोपार्जनमा गम्भीर असर पारेको बताए ।
प्रदर्शनपछि आयोजित कोणसभामा सातै प्रदेशका प्रतिनिधिहरूले आफ्ना धारणा राखेका थिए । संघर्ष समितिले आगामी जेठ ४ गते बुटवलमै राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरेको जनाएको छ । उक्त सम्मेलनमा विज्ञ, सरोकारवाला र विभिन्न प्रदेशका प्रतिनिधिहरूको सहभागितामा भूमिहीन तथा सुकुम्बासी समस्याको दीर्घकालीन समाधानबारे बहस गरिने बताइएको छ ।
संघर्ष समितिका सचिव रामचन्द्र भट्टराईका अनुसार सम्मेलनमार्फत सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय संघर्ष समिति गठन गरिनेछ । साथै सरकार र राजनीतिक दलहरूलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाउने तयारी पनि गरिएको छ ।
यस आन्दोलनप्रति नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टीसहित रुपन्देहीका १२ राजनीतिक दलहरूले ऐक्यबद्धता जनाएका छन् ।
नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रुपन्देहीको आयोजनामा भएको प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट सुरु भई मिलनचोक, अस्पताल लाइन हुँदै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
