विश्वकपमा कसको वर्चस्व ?
काठमाडौं। फिफा विश्वकप २०२६ विश्व फुटबल इतिहासकै सबैभन्दा ठूलो र ऐतिहासिक संस्करणका रूपमा आयोजना हुन लागेको छ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्न लागेको यो प्रतियोगिता पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुनेछ ।
प्रतियोगितामा कुल १०४ खेल हुनेछन् र यो ३९ दिनसम्म सञ्चालन हुनेछ, जसले विश्वकपलाई अझ विस्तारित र भव्य बनाउनेछ । फिफाले गरेको यो परिवर्तनले फुटबललाई अझ समावेशी बनाउँदै नयाँ राष्ट्रहरूलाई विश्व मञ्चमा अवसर दिने लक्ष्य राखेको छ ।
फिफा विश्वकपको सुरुवात सन् १९३० मा उरुग्वेबाट भएको थियो । पहिलो संस्करणमै आयोजक उरुग्वेले अर्जेन्टिनालाई फाइनलमा हराउँदै उपाधि जितेको थियो । त्यसपछि विश्वकप हरेक चार वर्षमा आयोजना हुँदै आएको छ, दोस्रो विश्वयुद्धका कारण केही संस्करणहरू रोकिए पनि यो प्रतियोगिता विश्वकै सबैभन्दा लोकप्रिय खेलकुद इभेन्ट बनेको छ । सुरुमा सीमित राष्ट्रहरूको सहभागिता रहेको यो प्रतियोगिता अहिले ४८ राष्ट्रसम्म विस्तार भइसकेको छ ।
विश्वकप इतिहासमा सबैभन्दा सफल राष्ट्र ब्राजिल हो, जसले पाँच पटक उपाधि जितेको छ । ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा लगातार उपाधि जित्दै विश्व फुटबलमा आफ्नो दबदबा कायम गरेको थियो । पेलेको नेतृत्वमा ब्राजिलले देखाएको आक्रामक र आकर्षक खेल शैली आज पनि विश्व फुटबलको पहिचान मानिन्छ । पछि ब्राजिलले १९९४ र २००२ मा पुनः विश्वकप जित्दै आफ्नो सफलता दोहोर्याएको थियो ।
इटाली र जर्मनी समान रूपमा चार–चार पटक विश्वकप विजेता बनेका छन् । इटालीले १९३४ र १९३८ मा लगातार उपाधि जितेर प्रारम्भिक युगमै आफ्नो शक्ति प्रदर्शन गरेको थियो भने २००६ मा फ्रान्सलाई पराजित गर्दै चौथो पटक उपाधि जितेको थियो । जर्मनीले १९५४, १९७४, १९९० र २०१४ मा विश्वकप जित्दै रणनीतिक अनुशासन र स्थिर प्रदर्शनको उदाहरण प्रस्तुत गरेको छ ।
अर्जेन्टिनाले हालसम्म तीन पटक विश्वकप जितेको छ। जसमा पछिल्लो पटक सन् २०२२ मा कतारमा लियोनेल मेसीको नेतृत्वमा उपाधि जितेको थियो । फ्रान्सले १९९८ र २०१८ मा दुई पटक विश्वकप जितेको छ भने इंग्ल्यान्डले १९६६ मा एक पटक मात्र उपाधि जितेको छ । स्पेनले सन् २०१० मा पहिलो पटक विश्वकप जितेर आफ्नो इतिहास रचेको थियो । उरुग्वेले पनि पहिलो संस्करण १९३० र १९५० मा गरी दुई पटक उपाधि जितेको छ ।
विश्वकप इतिहासमा १३ राष्ट्रले फाइनल खेलेका छन्, तर पाँच राष्ट्रले उपविजेता बनेर पनि उपाधि जित्न सकेका छैनन् । नेदरल्यान्ड्स तीन पटक फाइनलमा पुगे पनि उपाधि जित्न नसकेको सबैभन्दा चर्चित उदाहरण हो । हंगेरी र चेकोस्लोभाकिया दुई–दुई पटक फाइनलमा पुगेर पनि पराजित भएका थिए । पछिल्लो समय क्रोएसिया सन् २०१८ मा फाइनल पुगेर उपविजेता बनेको थियो ।
अहिलेसम्मको विश्वकप इतिहासमा अधिकांश उपाधि युरोप र दक्षिण अमेरिकी राष्ट्रहरूले बाँडेका छन् । युरोपेली राष्ट्रहरूले १२ भन्दा बढी पटक विश्वकप जितेका छन्। भने दक्षिण अमेरिकी राष्ट्रहरूले बाँकी अधिकांश उपाधि जितेका छन् । एसिया, अफ्रिका र उत्तर अमेरिकाबाट अहिलेसम्म कुनै राष्ट्रले विश्वकप जित्न सकेका छैनन्। जसले विश्व फुटबलमा शक्ति सन्तुलन अझै सीमित रहेको देखाउँछ ।
आगामी २०२६ विश्वकप तीन देशले पहिलो पटक संयुक्त रूपमा आयोजना गर्नेछन् । मेक्सिकोले तेस्रो पटक विश्वकप आयोजना गर्दै इतिहास रच्नेछ भने अमेरिका दोस्रो पटक आयोजक बन्नेछ । क्यानडाले पहिलो पटक विश्वकप आयोजना गर्ने अवसर पाएको छ । उत्तर अमेरिकामा हुने यो संस्करणले विश्व फुटबललाई नयाँ दर्शक, नयाँ बजार र नयाँ संरचनामा विस्तार गर्ने अपेक्षा गरिएको छ ।
४८ राष्ट्रको सहभागिताले विश्वकपलाई अझ प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ, तर खेल संख्या बढ्दा खेलाडीहरूमा थकान र चोटपटकको जोखिम पनि बढ्न सक्ने आलोचना पनि गरिएको छ । नयाँ ढाँचाले कम रैंकिङ भएका राष्ट्रहरूलाई ठूला टिमसँग खेल्ने अवसर दिने भएकाले केही अप्रत्याशित नतिजा आउन सक्ने अनुमान पनि गरिएको छ ।
फुटबल विश्लेषकहरूका अनुसार २०२६ विश्वकपमा पनि ब्राजिल, अर्जेन्टिना, फ्रान्स, जर्मनी, इंग्ल्यान्ड र स्पेन जस्ता राष्ट्रहरू मुख्य दाबेदार रहनेछन् । तर पछिल्लो समय मोरक्को जस्ता टिमहरूको प्रदर्शनले नयाँ सम्भावनाको संकेत दिएको छ। जसले फुटबलमा शक्ति सन्तुलन परिवर्तन हुन सक्ने संकेत गर्छ ।
