प्रधानमन्त्री बालेनलाई एमाले सांसदको प्रश्न – मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा खोई ?
काठमाडौं । नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रवादमाथि प्रश्न उठाउँदै विभिन्न विषयमा सार्वजनिक जवाफ माग गरेकी छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर हुँदा प्रधानमन्त्री बालेनले प्रयोग गर्ने गरेको ‘ग्रेटर नेपाल’ को नक्साबारे प्रश्न उठाइन् । ‘सम्माननीय प्रधानमन्त्री, मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा खोई ? यहाँ पनि चाहियो भन्ने माग गर्दछु,’ उनले भनिन् ।
उनले जनताले के आधारमा केपी शर्मा ओली भन्दा बालेनलाई बढी राष्ट्रवादी नेता ठानेर समर्थन गरेका हुन् भन्ने प्रश्नसमेत गरिन् । लिपुलेक व्यापारिक मार्गको विषयमा बालेन किन मौन बसेको भन्दै उनले सरकारको धारणा स्पष्ट हुनुपर्ने बताइन् ।
श्रेष्ठले सामाजिक सञ्जालमा समर्थकहरूले लेखेको बचाउपूर्ण टिप्पणीलाई मात्रै आधार बनाएर जनताले विश्वास गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरिन् । ‘फेसबुकमा चिठी हाल्दैमा जनताले पत्याइदिनुपर्ने हो कि ? कि कूटनीतिक पहल पनि भएको छ ?’ भन्दै उनले प्रश्न गरिन् ।
उनले मुस्ताङको युरेनियम खानी कसैलाई दिइएको भन्ने चर्चाबारे पनि सरकारको स्पष्ट धारणा माग गरिन् । ‘आम जनतालाई थाहा पाउनुपर्यो,’ उनले भनिन् ।
सगरमाथामा विदेशीलाई राख्ने भन्ने विषय उठेको उल्लेख गर्दै श्रेष्ठले त्यसप्रति जनताले असन्तुष्टि जनाउने चेतावनी दिइन् । ‘यो जनतालाई सह्य हुने छैन,’ उनको भनाइ थियो ।
भ्रष्टाचारविरोधी एजेन्डा बोकेर उदाएको दलका सांसदहरूको सम्पत्तिमाथि समेत प्रश्न उठाउँदै श्रेष्ठले सम्पत्तिको स्रोत र विवरण सार्वजनिक गर्न माग गरिन् ।
‘भ्रष्टाचारको विरोध गरेर उदाएको दलका सांसदहरूको सम्पत्ति कहाँदेखि आयो ? बिल पनि सार्वजनिक गरियोस्,’ उनले भनिन् ।
