बालेन सरकारलाई कांग्रेस सांसद नरेन्द्र केरुङका ६ प्रश्न
काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले संसदको नियमावली, विपक्षीको भूमिका र जवाफदेहिताका विषय उठाउँदै बालेन सरकारसँग छ वटा गम्भीर प्रश्न गरेका छन् ।
साेमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदको प्रभावकारिता र पारदर्शितासँग सम्बन्धित विषयमा पनि सरकारको स्पष्ट धारणा माग गरे ।
केरुङले पहिलो प्रश्न गरे, ‘विपक्षीलाई पर्याप्त स्थान दिइएको छ कि छैन नियमावलीमा ?’
त्यसपछि उनले संसदीय समितिहरूको भूमिकामाथि प्रश्न गरे । ‘विषय संसदीय समितिहरूको प्रभावकारिताको विषयमा के-के व्यवस्था गरिएका छन् ? विधेयकसहित अन्य कार्यसूचीहरूमा विभागीय मन्त्रीहरूको अनिवार्य उपस्थितिको व्यवस्था गरिएको छ कि छैन ?’ उनले भने ।
संसदीय अधिकार र जिम्मेवारीबीच सन्तुलन आवश्यक रहेको उल्लेख गर्दै केरुङले अर्को प्रश्न गरे, ‘संसदमा प्रश्न गर्ने र विषयवस्तुहरूप्रति संशोधन राख्न संसदीय अधिकार र कर्तव्यबीच सन्तुलन कायम गरिएको छ कि छैन ?’
उनले संसदलाई परिणाममुखी र पारदर्शी बनाउने व्यवस्थाबारे पनि सरकारको ध्यानाकर्षण गराए । “संसदमा प्रभावकारिता र पारदर्शितालाई परिणाममुखी बनाउने व्यवस्था कत्तिको छ नियमावलीमा ? उनले प्रश्न गरे ।
राष्ट्रपतिको सम्बोधनपछि नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्रीको अनुपस्थितिलाई संकेत गर्दै केरुङले अन्तिम प्रश्न उठाए ।
‘राष्ट्रपतिको सम्बोधनको क्रममा र त्यसपछि नीति कार्यक्रमको छलफल र जवाफ दिने क्रममा प्रधानमन्त्री खोज्यौँ, त्यस विषयमा नियमावलीमा केही मूल्याङ्कन गर्ने विषय समेटिएको छ कि छैन ?’ उनले भने ।
केरुङले संसदलाई थप प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन स्पष्ट र व्यवहारिक व्यवस्था आवश्यक रहेको धारणा व्यक्त गरे ।
