`

‘माइकल’को विश्व बक्सअफिसमा दबदबा, ७० करोड डलरभन्दा बढी कमाइ

Nepal One HD ४ जेठ २०८३ १६:४३
चलचित्र

एजेन्सी। पप संगीतका सम्राट मानिने माइकल ज्याक्सनमाथि आधारित बायोपिक फिल्म ‘माइकल’ले विश्व बक्सअफिसमा ७० करोड डलरभन्दा बढी कमाउँदै नयाँ उपलब्धि हासिल गरेको छ।

फिल्मले सप्ताहन्तमा ८३ अन्तर्राष्ट्रिय बजारबाट ५ करोड ७७ लाख डलर कमाउँदै अन्तर्राष्ट्रिय बक्सअफिसमा पुनः पहिलो स्थान कब्जा गरेको हो।

युनिभर्सलले अन्तर्राष्ट्रिय बजारमा र लायन्सगेटले अमेरिकी बजारमा वितरण गरेको फिल्म रिलिजको चौथो सातासम्म पनि बलियो व्यापार गरिरहेको छ। हालसम्म फिल्मले विश्वभरबाट ७० करोड ३० लाख डलर कमाइसकेको छ। त्यसमध्ये ४२ करोड १० लाख डलर अन्तर्राष्ट्रिय बजारबाट र २८ करोड २० लाख डलर अमेरिकी बजारबाट आएको हो।

जापानमा प्रदर्शन हुन बाँकी रहेकाले फिल्मले सन् २०१८ को चर्चित सांगीतिक बायोपिक ‘बोहेमियन र्‍याप्सोडी’को ९१ करोड १० लाख डलर कमाइको कीर्तिमानसमेत तोड्न सक्ने अनुमान गरिएको छ।

यता डिज्नीको सिक्वेल फिल्म ‘द डेभिल वेयर्स प्राडा २’ले पनि विश्व बक्सअफिसमा ५५ करोड डलर नजिकको व्यापार गरेको छ। मेरिल स्ट्रिप, एनी हेथवे, एमिली ब्लन्ट र स्ट्यान्ली टुची अभिनित फिल्मले हालसम्म ५४ करोड ६२ लाख डलर कमाइसकेको छ।

रिलिजको तेस्रो सातामा मात्रै फिल्मले विदेशी बजारबाट ५ करोड ६ लाख डलर थप कमाएको हो। उत्तर अमेरिकामा १७ करोड ५९ लाख डलर कमाएको फिल्मले अन्तर्राष्ट्रिय बजारबाट ३७ करोड ३ लाख डलर आम्दानी गरेको छ।

त्यस्तै, वार्नर ब्रदर्सको ‘मोर्टल कम्ब्याट २’ले दोस्रो सप्ताहन्तमा ७९ अन्तर्राष्ट्रिय बजारबाट १ करोड डलर कमाएको छ। दुई सातासम्ममा फिल्मले विश्वभरबाट १० करोड १० लाख डलर कमाइसकेको छ।

अर्कोतर्फ, अमेजन एमजीएमको रहस्यमय कमेडी फिल्म ‘शीप डिटेक्टिभ’ले दोस्रो सप्ताहन्तमा ८८ बजारबाट १ करोड ४० लाख डलर कमाएको छ। ह्यु ज्याकम्यान अभिनित फिल्मले हालसम्म विश्वभरबाट ५ करोड ८७ लाख डलर कमाइसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *