प्रधानन्यायाधीश पदमा सिफारिस भएका मनोज शर्मा विरुद्ध १६ वटा उजुरी
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा सिफारिस भएका मनोज शर्मा विरुद्ध १६ वटा उजुरी दर्ता भएका छन्।
संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले शर्मा विरुद्ध उजुरी आह्वान गरेको थियो। संवैधानिक परिषद्को बहुमतले वैशाख २४ गते शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको थियो।
उजुरीमाथि छलफल गर्न संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बिहान बोलाइएको थियो । समितिको सभापतित्व बोधनारायण श्रेष्ठले गरिरहेका छन्।
समितिले उजुरी खोलेलगत्तै उजुरीकर्तासँग छलफल गर्ने तयारी गरेको छ। स्रोतका अनुसार मंगलबार दिउँसो १ बजेबाट उजुरीकर्तासँग छलफल गरिनेछ ।
शर्मा २०७६ साल वैशाखमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। त्यतिबेला पनि संसदीय सुनुवाइका क्रममा उनको कार्यक्षमता र प्रस्तुतीकरणबारे प्रश्न उठेको थियो।
तत्कालीन एमाले सांसद पार्वत गुरुङले शर्माको प्रस्तुति ‘इनर्जेटिक’ नभएको टिप्पणी गरेका थिए। त्यस्तै, वरिष्ठ अधिवक्ता शम्भु थापाले शर्मा सर्वोच्च अदालतको न्यायाधीश बन्न आवश्यक योग्यता नपुगेको भन्दै उजुरी दिएका थिए।
त्यसबेला अर्का सांसद शिवकुमार मण्डल केवटले अदालतको कमजोरी पहिचान गर्न नसक्ने व्यक्तिले सुधार गर्न नसक्ने टिप्पणी गरेका थिए।
सुनुवाइका क्रममा भने शर्माले आफू सर्वोच्च अदालतको नेतृत्वमा पुग्ने उद्देश्यसहित नआएको बताएका थिए।
