दोधारमा प्रहरी : दुर्गा प्रसाईंविरुद्ध कुन मुद्दा चल्दै?
काठमाडौं। सोमबार राति वीरगञ्जको एक होटलबाट पक्राउ परेका मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईंविरुद्ध कुन मुद्दा चलाउने भन्नेबारे प्रहरी अझै निष्कर्षमा पुगेको छैन ।
सामान्यतया पक्राउ परेको २४ घण्टाभित्र म्याद थप गरी हिरासतमा राख्ने कानुनी व्यवस्था भए पनि हाल अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार साइबर अपराधसँगै राज्यविरुद्धको कसुर आकर्षित हुने सम्भावना देखिए पनि अन्तिम निर्णय भइनसकेको हो ।
‘साइबर क्राइमसँग राज्यविरुद्धको कसुर आकर्षित हुने सम्भावना देखिन्छ तर अहिलेसम्म निष्कर्ष निकालिएको छैन,’ उनले भने ।
प्रहरीका अनुसार वीरगञ्जका सार्वजनिक तथा अतिक्रमित संरचना हटाउने सरकारी अभियानको विरोधमा प्रसाईंले सरकारविरुद्ध जनतालाई उक्साउने गतिविधि गरेको आरोप छ ।
उनले पछिल्लो समय सामाजिक सञ्जाल र विभिन्न डिजिटल माध्यममार्फत अभिव्यक्ति तथा भिडियोहरू प्रसारण गर्दै आएको र ती सामग्रीको डिजिटल परीक्षण भइरहेको पनि प्रहरीले जनाएको छ ।
सोमबार विभिन्न कार्यक्रमका लागि वीरगञ्ज पुगेका प्रसाईं पक्राउ परेका हुन् । उनलाई हाल थप अनुसन्धानका लागि सुरक्षा निगरानीमा राखिएको छ ।
