`

‘कान्स’ रेड कार्पेटमा नेपाली अभिनेत्री अदिति

Nepal One HD ५ जेठ २०८३ १५:४२
चलचित्र

एजेन्सी। केही दिनदेखि फ्रान्समा जारी विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा नेपाली अभिनेत्री अदिति बुढाथोकी सहभागी भएकी छन् । उनले सोमबार रेड कार्पेटमा हिँडेका तस्बिरहरू इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छन् ।

शिवांगी प्रधानले तयार पारेको गाउनमा सजिएर उनले रेड कार्पेटमा आफ्नो उपस्थिति जनाएकी हुन् । अदिती बीएमडब्लु गाडीको भारतीय प्रतिनिधिको रूपमा फेस्टिभलमा सहभागी भएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पहिलो पटक कान्सको रेड कार्पेटमा हिँड्नु मेरा लागि अविश्वसनीय अनुभूति रह्यो । सुन्दर अनुभवका लागि बीएमडब्लु इन्डियालाई धन्यवाद ।’

यसपटक फेस्टिभलमा अन्य नेपाली फिल्मकर्मीहरूको पनि उपस्थिति देखिएको छ । यही बिहीबार प्रिमियर हुने नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’का निर्देशक अविनाश विक्रम शाह सोमबार रेड कार्पेटमा सहभागी भएका थिए ।

त्यस्तै, काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, अभिनेता प्रदीप खड्का, निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठ, फिल्म ‘एक्लो’का निर्देशक प्रदीप शाही र निर्माता अनुप पौडेल पनि फेस्टिभलमा सहभागी छन् ।

फेस्टिभल स्थलमा चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाली फिल्म प्रवर्द्धनका लागि स्टलसमेत राखिएको छ । कान्स फिल्म फेस्टिभल मे २४ सम्म चल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *