रुस र चीन विश्वलाई स्थायित्व दिने शक्ति : पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ नेता सी जिनपिङसँग हुने वार्ताअघि मस्को बेइजिङ सम्बन्धलाई विश्वमञ्चमा स्थायित्व कायम गर्ने शक्तिका रूपमा व्याख्या गरेका छन्।
मंगलबारदेखि सुरु हुने दुई दिने चीन भ्रमणअघि सम्बोधन गर्दै पुटिनले रुस र चीनले कुनै तेस्रो देशविरुद्ध गठबन्धन निर्माण गर्न नचाहेको स्पष्ट पारे। उनले दुवै देश शान्ति र विश्वव्यापी समृद्धिका लागि सहकार्य गरिरहेको बताएका हुन्।
पुटिनका अनुसार मस्को र बेइजिङले अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघको घोषणापत्रका सिद्धान्तहरूको संरक्षणका लागि सहकार्य गरिरहेका छन्। यद्यपि युक्रेनमाथिको रुसी आक्रमणलाई अन्तर्राष्ट्रिय कानुन उल्लंघनका रूपमा व्यापक आलोचना हुँदै आएको छ।
उनले रुस र चीनले संयुक्त राष्ट्रसंघ , सांघाई को-अपरेसन अर्गानाइजेसन र ब्रिक्स लगायत बहुपक्षीय मञ्चमार्फत विश्व तथा क्षेत्रीय समस्याको समाधानमा योगदान पुर्याइरहेको दाबी गरे। मस्को बेइजिङ सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको उल्लेख गर्दै पुटिनले सार्वभौमिकता र राष्ट्रिय एकताजस्ता विषयमा दुवै देशबीच पारस्परिक समर्थन कायम रहेको बताए।
पुटिन मंगलबार साँझ चीन पुग्ने कार्यक्रम रहेको छ भने बुधबार सि जिनफिङसँग औपचारिक वार्ता हुने तय गरिएको छ। एक वर्षभन्दा कम अवधिमा दुई नेताबीच हुन लागेको यो दोस्रो प्रत्यक्ष भेटलाई विश्व राजनीतिमा अमेरिकाको प्रभावलाई चुनौती दिने सन्दर्भमा हेरिएको छ।
यो भ्रमण रुस चीन सद्भाव तथा मैत्री सहकार्य सन्धि को २५औँ वार्षिकोत्सवको अवसरमा भइरहेको हो। साथै, केही दिनअघि मात्रै सि जिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बेइजिङमा सम्पन्न शिखर सम्मेलनपछि पुटिनको चीन भ्रमण हुन लागेको छ।
