`

बालेनमाथि बम्किए हर्क भने – ‘कर्तव्य पूरा गर्न नसक्ने भए मार्ग प्रशस्त गर्दा राम्रो’

Nepal One HD ७ जेठ २०८३ ११:५९
प्रमुख खबर

काठमाडौं । श्रम संस्कृति पार्टीका नेता तथा सांसद हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्ने बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै समय माग्दै उनले प्रतिनिधिसभा नियमावलीको नियम १५ (२) अनुसार सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्ने व्यवस्था रहेको स्मरण गराए ।

उनले प्रश्न गर्दै भने,प्रधानमन्त्रीज्यू सदनमा आएर सांसदहरूले उठानुभएका प्रश्नको उत्तर दिनुपर्ने हो या होइन ?’

साम्पाङले आफूले वैशाख २८ र २९ गते गृह मन्त्रालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न उठाएको उल्लेख गरे । रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीसँगै रहेको भन्दै ती प्रश्नको जवाफ प्रधानमन्त्री आफैँले दिनुपर्ने उनको माग थियो ।

उनले भने, ‘ती प्रश्नको उत्तर प्रधानमन्त्रीले आएर दिनुपर्छ ।’

प्रधानमन्त्री संसद्को सदस्य भएको स्मरण गराउँदै उनले संसद्को गरिमा जोगाउने दायित्व सबैमा बराबर हुने बताए ।

उनले भने, ‘उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन ? यो देशमा पार्लियामेन्ट छ कि छैन ? सबै जनाले लोकतन्त्र र संसद्को गरिमा जोगाइराख्नुपर्छ कि पर्दैन ?’

साम्पाङले प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी पूरा गर्न नसके मार्ग प्रशस्त गर्नुपर्ने टिप्पणी पनि गरे ।

उनले भने, ‘यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दा राम्रो ।’

प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभए कसप्रति जवाफदेही हुने भन्ने प्रश्नसमेत उनले उठाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *