`

विपक्षीको नाराबाजीबीच सभामुखले पेलेर अघि बढाएका तीन विधेयक,कुन-कुन हुन् ?

Nepal One HD ७ जेठ २०८३ १७:३६
प्रमुख खबर

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूको विरोध र नाराबाजीबीच तीन वटा विधेयक अघि बढाएका छन् ।

प्रतिनिधिसभा बैठकमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।

विरोधकै बीच सभामुख अर्यालले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ अघि बढाएका हुन् ।

प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले तीनवटै विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित हुनुपर्ने माग गर्दै नाराबाजी जारी राखे पनि सत्तापक्षको समर्थनमा सभामुखले प्रस्तावहरू स्वीकृत भएको घोषणा गरेका थिए ।

स्वीकृत भएका तीनवटै विधेयकमाथि अब संशोधन प्रस्ताव दर्ताका लागि आह्वानसमेत गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *