७ वर्षदेखि फरार रहेका महरा फेटाबाट पक्राउ
काठमाडौं। सात वर्षअघि भएको एक घटनामा संलग्न रहेको आरोपमा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई बाराको फेटा गाउँपालिका-१ बाट पक्राउ गरेको हो ।
प्रहरीका सूचना अधिकारी मनिष श्रेष्ठका अनुसार पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका–४ का ३० वर्षीय पञ्चदेव महरा रहेका छन् ।
२०७६ साल चैत २३ गते चितवनको खैरहनी नगरपालिका–९ स्थित नेपाल ग्यास उद्योग गण्डकीको कम्पाउन्डभित्र रहेको मजदुर बस्ने कच्ची घरको कोठामा फेटा गाउँपालिका–३ का ४६ वर्षीय सखिचन महरा मृत अवस्थामा फेला परेका थिए ।
उक्त घटनामा संलग्न रहेको आरोपमा उनलाई त्यसबेला इलाका प्रहरी कार्यालय रत्ननगर र इलाका प्रहरी कार्यालय खैरहनीको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । तर पछि उनी फरार रहेका थिए ।
हाल पक्राउ परेका महरालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
