`

कान्स फिल्म फेस्टिभलमा पुगेर फर्केपछि सुनिता डंगोल, ‘काठमाडौँमा पनि हुन्छ’(भिडियाे)

Nepal One HD ९ जेठ २०८३ १३:१९
चलचित्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको सहभागिता र प्राप्त सफलतालाई नेपालको सिर्जनशील क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताएकी छन्।

फ्रान्समा आयोजित फेस्टिभलमा सहभागी भएर स्वदेश फर्किएपछि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भ्रमण र त्यसक्रममा भएका उपलब्धिबारे जानकारी दिएकी हुन्।

डंगोलले सिर्जनशील क्षेत्रलाई दीर्घकालीन रूपमा संस्थागत गर्न काठमाडौँ महानगरपालिकाले आवश्यक नीति तथा कार्यविधि निर्माणको तयारी गरिरहेको बताइन्। साथै, कान्सका मेयरले आयोजना गरेको विशेष स्वागत तथा डिनर कार्यक्रममा सहभागी हुने क्रममा काठमाडौँ फिल्म फेस्टिभलका लागि प्राविधिक सहयोग र सहकार्यका विषयमा पनि छलफल भएको उनले उल्लेख गरिन्।

यस वर्षको कान्स फिल्म फेस्टिभल नेपाली चलचित्र क्षेत्रका लागि विशेष रहेको भन्दै उनले ‘अन सर्टेन रिगार्ड’ विधामा पहिलो पटक नेपाली फिल्म छनोट हुनु गर्वको विषय भएको बताइन्। निर्देशक अविनाशविक्रम शाहको टिमद्वारा निर्माण गरिएको उक्त फिल्मले सोही विधामा जुरी प्राइज जित्न सफल भएकोमा उनले बधाई पनि दिइन्।

डंगोलले भनिन्, “सिर्जनशील क्षेत्रलाई केवल ‘वान टाइम प्रोग्राम’ नभई संस्थागत स्वरूप दिन हामी नीतिगत छलफलमा अघि बढिरहेका छौँ। भ्रमणका क्रममा विभिन्न सहरका प्रतिनिधिसँगको भेटमा काठमाडौँ महानगरले पहिलो पटक आयोजना गर्न लागेको ‘काठमाडौँ फिल्म फेस्टिभल’बारे जानकारी गराउँदा उहाँहरू उत्साहित हुनुभयो। फिल्म प्रदर्शनपछि दर्शकहरूले करिब ७–८ मिनेटसम्म उभिएर सम्मान गर्नु हाम्रो लागि अत्यन्तै भावुक र गर्वको क्षण थियो।”

उनले कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा नेपालको मौलिक पहिचान झल्कने ‘हाकु पटासी’ र परम्परागत गरगहना लगाएर सहभागी हुनु पनि सांस्कृतिक रूपमा महत्वपूर्ण रहेको बताइन्।

महानगरपालिकाले आगामी फिल्म फेस्टिभललाई सफल बनाउन विशेष टोली परिचालन गरेको छ। सम्पदा तथा पर्यटन समिति, सूचना प्रविधि विभाग र प्रशासन विभागको समन्वयमा तयारी भइरहेको महानगरले जनाएको छ।

फेस्टिभललाई काठमाडौँको संस्कृति र सहरको समग्र इकोसिस्टमसँग जोड्दै अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य रहेको बताइएको छ। डंगोलले यो भ्रमणले काठमाडौँलाई ‘क्रिएटिभ सिटी’ का रूपमा विश्वमाझ स्थापित गर्न तथा अन्य अन्तर्राष्ट्रिय सहरहरूसँग सहकार्य विस्तार गर्न मद्दत पुगेको विश्वास व्यक्त गरिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *