`

‘लालीबजार’ ले गर्यो पाँच करोड भन्दा बढी ग्रस कलेक्सन

Nepal One HD ९ जेठ २०८३ १७:००
चलचित्र

काठमाडौँ।तेस्रो सातासम्म प्रदर्शनमा रहेको नेपाली फिल्म लालीबजार प्रति दर्शकको आकर्षण अझै कायम रहेको छ । शनिबार पनि देशभरका अधिकांश हलहरूमा फिल्म हेर्ने दर्शकको उल्लेख्य भीड देखिएको छ भने केही शोहरू हाउसफुल भइसकेका छन् ।

षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको फिल्म हेर्न परिवारसहित दर्शक हलसम्म पुगिरहेको अभिनेता रविन्द्र सिंह बानियाले बताएका छन् । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा पुगेर दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिँदै आएका उनले फिल्मको कथा, मनोरञ्जन र सामाजिक सन्देश दर्शकले मन पराएको बताए ।

उनका अनुसार अभिनेत्री स्वस्तिमा खड्का सहितको टिमले आज काठमाडौँ उपत्यकाका विभिन्न हलहरूमा पुगेर दर्शकलाई सरप्राइज दिने कार्यक्रम रहेको छ ।

निर्देशक यम थापाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मले दुई सातामै ५ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरिसकेको निर्माण पक्षले जनाएको छ । निर्माण टिमले यो विकेन्डसम्म फिल्मले ६ करोड रुपैयाँको आँकडा पार गर्ने अपेक्षा गरेको छ ।

फिल्मको कथावस्तु, निर्देशन र कलाकारहरूको अभिनयको दर्शकले खुलेर प्रशंसा गरिरहेका छन् । विशेषगरी आमाको संघर्षलाई केन्द्रमा राखिएको भावनात्मक कथाले धेरै दर्शकलाई भावुक बनाएको प्रतिक्रिया प्राप्त भइरहेको छ ।

दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त भइरहेका कारण आगामी दिनमा पनि फिल्मको व्यापार अझ बलियो हुने अनुमान गरिएको छ । फिल्मको ट्रेलर युट्युबको मुभी चार्टमा नम्बर १ मा ट्रेन्डिङमा रहेको छ । सार्वजनिक भएको एक महिनापछि पनि ट्रेलरले २२ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ ।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी र कुन्टललगायत कलाकारहरूको अभिनय रहेको छ ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनय क्षेत्रमा डेब्यु गरेका छन् । विशाल थिएटर पृष्ठभूमिबाट आएका कलाकार हुन् भने प्रशंसा ‘जेनजी’ पुस्ताकी अभिनेत्रीका रूपमा चर्चित छिन् ।

फिल्मको पटकथा तथा संवाद निर्देशक यम थापा र प्रदिप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्ममा प्रदीप भट्टराई कार्यकारी निर्माता रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *