जुम्लामा स्वास्थ्य बिमा नवीकरण गर्नेको संख्या घट्दो
जुम्ला। जिल्लामा स्वास्थ्य बिमा नवीकरण गर्नेको सङ्ख्या पछिल्लो समयमा निरन्तर घट्दै गएको देखिएको छ।
स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालयका दर्ता अधिकारी तीर्थराज जोशीका अनुसार जिल्लामा हालसम्म करिब एक लाख तीन हजार नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन्। तर तीमध्ये सक्रिय बिमितको सङ्ख्या मात्र ४४ हजार ४७९ रहेको छ। यसअनुसार करिब ५६ हजारले आफ्नो बिमा नवीकरण नगरेको तथ्यांकले देखाएको छ।
जिल्लामा १४ हजार ८८५ घरपरिवार स्वास्थ्य बिमामा सूचीकृत छन्। यसैगरी ज्येष्ठ नागरिक ३ हजार ९२३, अति अशक्त अपाङ्गता भएका ९८ र महिला स्वास्थ्य स्वयंसेविका ३०६ जनाको परिवार पनि बिमा कार्यक्रममा आबद्ध रहेको कार्यालयले जनाएको छ।
त्यस्तै अति गरिब परिवारतर्फ करिब १७ हजार ३१२ जनाले बिमा नवीकरण नगरेपछि कुल नवीकरण दर घटेको देखिएको छ। अति गरिब घरपरिवारको निःशुल्क बिमा नवीकरण गर्ने सरकारी व्यवस्था बन्द भएपछि नवीकरण नगर्नेहरूको संख्या बढेको दर्ता अधिकारी जोशीले बताए।
सरकारले अपाङ्गता भएका, अशक्त, कुष्ठरोगी, एचआईभी सङ्क्रमित र ज्येष्ठ नागरिकलाई निःशुल्क बिमाको सुविधा उपलब्ध गराउँदै आएको छ। अन्य नागरिकका लागि भने वार्षिक शुल्क तिरेर एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा सेवा लिने व्यवस्था रहेको स्वास्थ्य बिमा बोर्डले जनाएको छ।
यद्यपि, बिमा प्रणालीको प्रयोगमा देखिएको अनियमितता नियन्त्रण गर्न बोर्डले हाल सहभुक्तानी (को–पेमेन्ट) व्यवस्था लागू गरेको छ। साथै, बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन प्रत्येक वडामा दर्ता सहयोगी परिचालन गरी घरदैलोमै पुगेर नागरिकलाई बिमामा सहभागी गराउने अभियान पनि सञ्चालन भइरहेको छ।
नवीकरण घट्नुका मुख्य कारणहरूमा सेवा गुणस्तरमा कमी, तोकिएका अस्पतालमा औषधि सहज रूपमा उपलब्ध नहुनु, लामो लाइन बस्नुपर्ने बाध्यता, उपचारमा ढिलाइ तथा अस्पतालहरूले बिमितको भुक्तानी समयमा नपाउने समस्या रहेका छन्। यस्ता समस्याका कारण आम नागरिकमा स्वास्थ्य बिमा कार्यक्रमप्रति विश्वास घट्दै गएको स्थानीय बासिन्दाको भनाइ छ।
जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम २०७४ सालदेखि विस्तार गरिएको हो।
