`

पक्राउ पुर्जी जारी भएपछी वडाध्यक्ष बेपत्ता

Nepal One HD १० जेठ २०८३ ११:५३
अपराध

सप्तरी। कुटपिट तथा अंगभंगसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि सप्तरीको राजगढ गाउँपालिका-२ का वडाध्यक्ष जितेन्द्रकुमार यादव सम्पर्कविहीन भएका छन् ।

प्रहरीले वडाध्यक्ष यादवसहित पाँच जनाविरुद्ध गत सोमबार पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरी कारबाही अघि बढेपछि यादवले वडा सदस्य सुमित्रादेवी खंगलाई निमित्त जिम्मेवारी दिएर सम्पर्कविहीन भएको बताइएको छ ।

वडा सचिव रामकुमार यादवले चार दिनअघि वडाध्यक्ष यादवले कार्यवाहक जिम्मेवारी हस्तान्तरण गरेको पुष्टि गरेका छन् ।

राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले केही दिनअघि मात्र वडाध्यक्षसँग भेट भएको तर त्यसपछि सम्पर्क नभएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बरबहादुर पुरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

घटना गत कात्तिक २१ गते राजगढ गाउँपालिका-२ को बनैनियाँ क्षेत्रमा भएको थियो । सार्वजनिक जग्गामा घर निर्माण गर्न खोज्दा स्थानीय ललनकुमार सिंहलगायतले विरोध जनाएपछि विवाद चर्किएको बताइएको छ ।

आरोपअनुसार वडाध्यक्ष यादवसहित शिवन खंग, टुनु खंग, पशुपति खंग र श्रीराम खंगले सिंहमाथि रड प्रहार गरेका थिए । उक्त घटनामा सिंहको हात भाँचिएको बताइएको छ ।

पीडित सिंहले कात्तिक २५ गते नै प्रहरीमा जाहेरी दिन खोजे पनि दर्ता नगरिएको आरोप लगाएका छन् । पछि उनले जिल्ला सरकारी वकिल कार्यालयमार्फत पुनः जाहेरी दिए पनि प्रक्रिया अघि नबढाइएको जनाइएको छ ।

त्यसपछि सिंहले उच्च अदालत जनकपुरको राजविराज इजलासमा परमादेश माग गर्दै रिट दायर गरेका थिए । न्यायाधीश पूर्णप्रसाद राजवंशी र कृष्णप्रसाद सुवेदीको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयका नाममा परमादेश जारी गरेपछि घटनामा कानुनी प्रक्रिया अघि बढेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *