कान्समा ‘जुरी प्राइज’ जित्ने ‘इलेफेन्ट्स इन द फग’
काठमाडौं। नेपाली निर्देशक अभिनव विक्रम शाहको पहिलो फिचर फिल्म ‘इलेफेन्ट्स इन द फग’ ले विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यो उपलब्धिसँगै नेपाली सिनेमा पहिलो पटक उक्त प्रतिस्पर्धात्मक खण्डमा पुरस्कृत भएको छ ।
ग्रामीण नेपालको परिवेशमा आधारित यो फिल्म एक ट्रान्स महिला र उनको प्रेमकथामार्फत पहिचान, स्वीकृति, प्रेम, एक्लोपन र सामाजिक संरचनाको संवेदनशील चित्रण गर्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘द टाइम्स अफ इन्डिया’ले पनि फिल्मलाई गहिरो, शान्त र भावनात्मक रूपमा शक्तिशाली प्रस्तुति भन्दै उच्च प्रशंसा गरेको छ ।
समीक्षाहरूमा उल्लेख गरिएअनुसार फिल्म कुनै ठूलो हल्ला वा नाटकीय शैलीमा नभई अत्यन्तै संयमित र सूक्ष्म ढंगले कथा भन्छ । ग्रामीण नेपालको सामाजिक संरचना, परम्परा र सीमान्तकृत समुदायको जीवनलाई फिल्मले यथार्थपरक रूपमा चित्रण गरेको छ ।
फिल्मको केन्द्रमा रहेको ट्रान्स महिला पात्रको जीवन संघर्ष, प्रेम खोज्ने चाहना र समाजले दिने अस्वीकृतिको पीडालाई निर्देशक शाहले अत्यन्तै संवेदनशील ढंगले प्रस्तुत गरेका छन् । समीक्षकहरूले यसलाई ‘भावनात्मक रूपमा परिपक्व र कलात्मक रूपमा सन्तुलित डेब्यु’ भनेका छन् ।
निर्देशक अभिनव विक्रम शाहका अनुसार यो फिल्मलाई केवल एक व्यक्तिगत सफलता वा ऐतिहासिक क्षणका रूपमा मात्र हेर्नु हुँदैन । उनका भनाइमा, नेपालमा सधैँ शक्तिशाली र गहिरा कथाहरू थिए, तर ती कथाहरूले अन्तर्राष्ट्रिय पहुँच र दृश्यता पाउन सकेनन् ।
उनले भनेका छन्, ‘समस्या कथामा होइन, ती कथाले विश्वस्तरमा पुग्ने अवसर र दृश्यतामा थियो । यो छनोटलाई म विश्वलाई हामीलाई बेवास्ता नगर्न दिएको संकेतका रूपमा हेर्छु ।’
शाहले नेपाली फिल्मकर्मीहरूलाई आफ्नै मौलिक आवाजमा अडिग रहन आग्रह गर्दै स्थानीय कथालाई विश्वव्यापी बनाउन आत्मविश्वास आवश्यक रहेको बताए ।
शाहका लागि कान्स नयाँ अनुभव होइन । यसअघि उनको छोटो फिल्म ‘लोरी’ ले कान्सको ७५औँ संस्करणमा ‘स्पेसल मेन्सन’ प्राप्त गरेको थियो, जुन उपलब्धि प्राप्त गर्ने पहिलो नेपाली छोटो फिल्म बनेको थियो ।
त्यसपछि उनले फिचर फिल्ममार्फत पुनः कान्स फर्किने लक्ष्य राखेका थिए. जसको परिणामस्वरूप ‘इलेफेन्ट्स इन द फग’ बनेको हो ।
फिल्म नेपालको एक सानो गाउँमा आधारित छ, जहाँ जंगलमा जंगली हात्तीहरूको निरन्तर उपस्थिति छ । यो प्राकृतिक वातावरणभित्र फिल्मले ‘किनर’ समुदायकी अगुवा पीरतीको कथा प्रस्तुत गर्छ ।
पीरती आफ्नो जीवनमा सामान्य प्रेम र पारिवारिक सुखको सपना देख्छिन्, तर उनको छोरी हराएपछि उनको जीवन यात्राले नयाँ मोड लिन्छ । व्यक्तिगत चाहना र सामुदायिक जिम्मेवारीबीचको द्वन्द्व फिल्मको मुख्य भाव बनेको छ ।
फिल्मले केवल व्यक्तिगत कथा मात्र नभई सामाजिक र वातावरणीय संघर्षलाई पनि समानान्तर रूपमा प्रस्तुत गरेको छ । निर्देशक शाहका अनुसार जात, लैङ्गिकता र प्रकृतिमाथिको नियन्त्रणबीच गहिरो सम्बन्ध छ, जहाँ सबै संघर्षको जरा ‘अरू’ माथि नियन्त्रण गर्ने मानसिकतासँग जोडिएको छ ।
फिल्ममा पुष्पा थिङ लामा, दिपीका यादव, जस्मिन विश्वकर्मा र एलिजा घिमिरेलगायत कलाकारहरूको अभिनय रहेको छ ।
कलाकार छनोट प्रक्रिया झण्डै दुई वर्ष लामो रहेको थियो । निर्माण टोलीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरू र नयाँ अनुहार खोज्दै देशभर यात्रा गरेको थियो ।
यो फिल्म नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका अन्तर्राष्ट्रिय सहनिर्माणमा तयार भएको हो । नेपालीतर्फ अनुप पौडेल र प्रचण्ड मान श्रेष्ठ निर्माता रहेका छन् ।
‘इलेफेन्ट्स इन द फग’ को यो सफलता नेपाली चलचित्र उद्योगका लागि ऐतिहासिक मानिएको छ । पहिलो पटक कान्सको प्रतिस्पर्धात्मक खण्डमा पुरस्कार जित्नुले नेपाली कथावाचनलाई विश्वले गम्भीर रूपमा लिन थालेको संकेत दिएको फिल्म क्षेत्रका जानकारहरूको भनाइ छ ।
यस उपलब्धिले भविष्यमा नेपाली फिल्मकर्मीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ मजबुत उपस्थितिका लागि प्रेरणा दिने अपेक्षा गरिएको छ ।
