बालेनको युट्युबमा ‘काँधमाथि ज्ञानेन्द्र राजालाई’ भन्ने गीत भेटिएपछि…
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को आधिकारिक युट्युब च्यानलमा ‘शिरमाथि नेपाल आमा, काँधमाथि ज्ञानेन्द्र राजालाई’ बोलको गीत देखिएपछि अहिले व्यापक बहस छेडिएको छ । शाहको आधिकारिक युट्युब च्यानलमा उक्त्त गीत भेट्टिएसँगै धेरै प्रयोगकर्ताले त्यसलाई राजनीतिक रूप प्रधानमन्त्री बालेनमा ‘राजावादी’ भएको व्याख्या गर्न थालेका छन् ।
कतिपयले प्रधानमन्त्री बालेनले राजतन्त्रप्रति सहानुभूति राखेको टिप्पणी गरेका छन् भने कतिपयले उनको युट्युब च्यानल ह्याक भएको आशंका समेत गरेका छन् ।
उक्त गीत फेब्रुअरी २० मा अपलोड भएको देखिन्छ । एआई प्रविधिबाट तयार पारिएको उक्त गीतमा पूर्वराजा शाहलाई समर्थन गरेको आशय झल्किने शब्द प्रयोग गरिएकाले सामाजिक सञ्जालमा यसबारे चासो झन् बढेको हो ।
राजतन्त्रपक्षधरहरुले भने प्रधानमन्त्रीले पुर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहको पक्षधरता जमाएको भन्दै समर्थन गरेका छन्।
तर प्राविधिक रूपमा हेर्दा यो गीत बालेनले आफैँ अपलोड गरेको वा उनको च्यानल ह्याक भएको भन्ने निष्कर्षमा पुग्न सकिने अवस्था भने देखिँदैन । युट्युबको ‘अफिसियल आर्टिस्ट च्यानल’ प्रणालीका कारण यस्तो अवस्था सिर्जना भएको बुझिएको छ ।
‘अफिसियल आर्टिस्ट च्यानल’ के हो ?
बालेन राजनीतिमा आउनुअघि नै र्याप सङ्गीत क्षेत्रमा परिचित नाम थिए। उनी गायक, गीतकार तथा सङ्गीतकर्मीका रूपमा युट्युबमा सक्रिय रहँदै आएका थिए । यही कारण युट्युबले उनको च्यानललाई ‘अफिसियल आर्टिस्ट च्यानल’को मान्यता दिएको छ ।
यस्ता च्यानलमा सामान्य भिडियो मात्र नभई विभिन्न डिजिटल सङ्गीत प्लेटफर्ममार्फत सार्वजनिक भएका गीतहरू पनि स्वतः जोडिन सक्छन् । युट्युबले सन् २०२४ देखि ‘रिलिजेज’ नामको विशेष सुविधा विस्तार गरेको थियो।जुन अहिले नेपालका धेरै कलाकारका च्यानलमा पनि देखिन थालेको छ ।
यो फिचर विशेषगरी एल्बम, सिङ्गल गीत वा अडियो ट्र्याकका लागि प्रयोग हुन्छ । कुनै गीत ‘ट्युनकोर’, ‘डिस्ट्रोकिड’ वा अन्य डिजिटल म्युजिक डिस्ट्रिब्युटरमार्फत सार्वजनिक गरिँदा सम्बन्धित कलाकारको नाम उल्लेख भएको खण्डमा युट्युबको प्रणालीले त्यसलाई स्वतः सम्बन्धित च्यानलमा देखाउन सक्छ।
कसरी पुग्यो गीत बालेनको च्यानलमा ?
प्राविधिक रूपमा कुनै पनि व्यक्ति वा समूहले डिजिटल प्लेटफर्ममार्फत गीत वितरण गर्दा कलाकारको नाम ‘मेटाडाटा’मा राख्न सक्छ । यदि त्यहाँ बालेनको नाम वा च्यानलसँग सम्बन्धित विवरण समावेश गरिएको छ भने युट्युबको स्वचालित प्रणालीले उक्त सामग्रीलाई बालेनकै ‘रिलिजेज’ सेक्सनमा देखाउन सक्छ ।
यही कारणले उक्त गीत बालेनको च्यानलमा देखिएको हो । यसको अर्थ बालेनले व्यक्तिगत रूपमा भिडियो अपलोड गरेका हुन् भन्ने होइन ।
यसअघि पनि बालेनको च्यानलमा विभिन्न असम्बन्धित गीतहरू देखिएका थिए । ‘न आत्तिनु मेरी आमा’, ‘देउरालीमा बतास चल्यो’, ‘बाइरोडमा ड्राइभर हर्न बजाउँदै’, ‘अबकी बार बालेन सरकार’, ‘तर अन्तिम पल्ट’ लगायतका गीतहरू समेत स्वचालित प्रणालीमार्फत च्यानलमा जोडिएका थिए । र अहिलेपनि उनको च्यानलमा उक्त गीतहरु सुन्न सकिन्छ।
सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया
गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पक्ष-विपक्षमा बहस सुरु भएको छ । केही प्रयोगकर्ताले प्रधानमन्त्रीको हैसियतमा यस्ता सामग्रीप्रति संवेदनशील हुनुपर्ने बताएका छन् । उनीहरूले च्यानल व्यवस्थापनमा थप सावधानी अपनाउनुपर्ने धारणा राखेका छन् ।
अर्कोतर्फ केहीले भने प्रविधिबारे पर्याप्त जानकारी नहुँदा अनावश्यक राजनीतिक अर्थ लगाइएको बताएका छन् । उनीहरूका अनुसार युट्युबको ‘आर्ट ट्र्याक’ प्रणालीबारे नबुझ्दा वा २०२४ युट्युबले ल्याएको ‘रिलिजेज’ नामको विशेष सुविधाको बारेमा थाहा नहुँदा भ्रम सिर्जना भएको हो।
ह्याक भएको हो ?
कतिपयले च्यानल ह्याक भएको आशंका गरे पनि त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण सार्वजनिक भएको छैन । च्यानलको नियमित सामग्री, पुराना भिडियो तथा अन्य व्यवस्थापन पक्ष सामान्य अवस्थामै देखिएकाले ह्याकको सम्भावना कमजोर मानिएको छ ।
प्रविधि विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा एआईबाट बनाइएका गीत, डिजिटल वितरण प्रणाली र स्वचालित कन्टेन्ट म्याचिङका कारण यस्ता घटना विश्वभर देखिन थालेका छन् । विशेषगरी कलाकारको नाम प्रयोग गरेर बनाइएका ‘आर्ट ट्र्याक’ सामग्रीहरू सम्बन्धित च्यानलमा स्वतः देखिने समस्या अहिले धेरै कलाकारले भोगिरहेका छन् ।
यसरी हेर्दा बालेनको च्यानलमा देखिएको उक्त गीत राजनीतिक निर्णयभन्दा पनि युट्युबको स्वचालित डिजिटल सङ्गीत प्रणालीसँग जोडिएको प्राविधिक विषय भएको स्पष्ट देखिन्छ ।
प्रधानमन्त्री शाहसँग सम्बन्धित अनगिन्ती रहस्यहरू अझै पर्दामै छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’बाट निर्वाचित भएर सरकारमा पुगे पनि उनी कुन विचारधारा अवलम्बन गर्छन् भन्ने विषयमा जनमानसमा अझै अन्योल कायम छ । यद्यपि उनीसँग जोडिएका रहस्यका पर्दाहरू समयले नै उघार्नेछ ।
