ईपीएसमार्फत कोरिया जान प्रतीक्षारत युवाहरूको प्रदर्शन [तस्वीरहरू]
काठमाडौं। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा तथा आवश्यक प्रक्रिया पूरा गरेर दक्षिण कोरिया जान प्रतीक्षारत नेपाली युवाहरूले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनीहरूले ‘पास गरेकोलाई कोरिया पठाऊ’, ‘रोजगारको अधिकार सुनिश्चित गर’ लगायतका नारा लगाउँदै सरकारसँग तत्काल पहल गर्न माग गरेका हुन्।
प्रदर्शनमा सहभागी युवाहरूका अनुसार ईपीएस परीक्षा उत्तीर्ण गरेपछि पनि हजारौं युवा लामो समयदेखि रोजगारका लागि कोरिया जान प्रतीक्षामा छन्। कोरियाली रोजगारदाताबाट ‘रोस्टर’ मा नाम परे पनि श्रम सम्झौता (लेबर कन्ट्र्याक्ट) नआउनु, सीमित श्रम कोटा, तथा प्रक्रियागत ढिलाइका कारण उनीहरू विदेश जान नसकेको गुनासो छ।
उनीहरूले कोभिड-१९ महामारीपछिको असर, नेपाल-कोरिया श्रम आपूर्ति प्रक्रियामा देखिएको प्रशासनिक जटिलता र रोजगार प्रणालीको अनिश्चितताका कारण आफूहरू अन्योलमा परेको बताएका छन्।
प्रदर्शनकारी युवाहरूले भाषा परीक्षा उत्तीर्ण गर्न वर्षौं समय खर्चिएको, तयारी तथा तालिममा ठूलो रकम लगानी गरेको भए पनि रोजगारीको अवसर नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
उनीहरूको मागमा प्रक्रिया पारदर्शी बनाउन, श्रम कोटा बढाउन र छिटो कोरिया पठाउने व्यवस्था गर्नुपर्ने विषय समावेश छ। साथै, सरकारले दीर्घ प्रतीक्षामा रहेका ईपीएस उत्तीर्ण युवाहरूको समस्या समाधान गर्न ठोस कदम चाल्नुपर्ने उनीहरूको जोड छ।
तस्वीरहरू:











