मंगल ग्रहबारे थाहा पाउँदा दिमाग चकित पार्ने तथ्यहरू
काठमाडौं। सौर्यमण्डलको रहस्यमयी ग्रहहरूको चर्चा हुँदा मंगल ग्रहको नाम पहिलो पंक्तिमा पर्दछ। रातो र सुन्तलाजस्तो देखिने यो ग्रह बाहिरी रूपमा मात्रै होइन, भित्री संरचना, वातावरणीय बनावट र भू-आकृतिका कारणले पनि वैज्ञानिकहरूलाई सतत् चकित पारिरहेको छ।
मंगल ग्रहको सतह सुन्तलागहुँजस्तो देखिनु यसको माटोमा रहेको अत्यधिक आइरन अक्साइड (रातो जंग)का कणहरूका कारण हो। यही तत्वका कारण मंगललाई प्रायः ‘रेड प्लानेट’ पनि भनिन्छ।
मंगल ग्रह पृथ्वीको आधाभन्दा कम आकार र दशौँ भागजति मात्रै द्रव्यमान भएको ग्रह हो। त्यसैले यसको गुरुत्वाकर्षण अत्यन्त कमजोर हुन्छ। कमजोर गुरुत्वाकर्षणले वातावरणका ग्यासलाई ग्रहको सतहमा राख्न सक्दैन, जसका कारण मंगल लामो समयमै आफ्नो घना वायुमण्डल गुमाइसकेको मानिन्छ।
‘सौर्यमण्डलको सबैभन्दा ठूलो पर्वतको घर’- मंगल ग्रहको अर्को अद्भुत विशेषता हो । ओलिम्पस मोन्स नामक यो ज्वालामुखी पहाड करिब २२ किलोमिटर उचाइको छ, जुन माउन्ट एभरेस्टभन्दा पनि तीन गुणा अग्लो छ। यसको विशालता यति ठूलो छ कि यसलाई अन्तरिक्षबाट नै सजिलै देख्न सकिन्छ।
त्यसैगरी मंगलमा अवस्थित भालेस मरिनेरिस नामक गर्त संसारकै सबैभन्दा विशाल दह्रो उपत्यकामध्ये एक हो। यसको गहिराइ करिब ४ माइलसम्म पुग्छ, जुन पृथ्वीको कुनै पनि प्राकृतिक उपत्यकाभन्दा गहिरो हुन्छ। यदि यो पृथ्वीमा हुन्थ्यो भने अमेरिकाको एक किनाराबाट अर्को किनारासम्म फैलिन्थ्यो।
मंगल सतहका सबै भाग सुन्तला र रातो हुँदैनन्। मंगलमा नीला-नीला देखिने वालुवा टीकराहरू पनि पाइन्छन्। यी वास्तवमा वैज्ञानिकहरूले रंग उभारेर तयार पारेका तस्वीरहरू भए पनि सतहमा रहेका विभिन्न खालका बालुवीय संरचनाले ती फरक देखिने रंगहरूलाई जीवन्त देखाइदिन्छन्।
वैज्ञानिकहरूले हालै पत्ता लगाएको एउटा महत्वपूर्ण तथ्य के हो भने मंगलको उच्च वायुमण्डलमा पुग्ने पानीका अणुहरूले हाइड्रोजन अन्तरिक्षमा पलायन हुने प्रक्रिया बढाइरहेका छन्। सूर्यका किरणको तीव्रता, मंगलको दीर्घवृत्ताकार कक्ष, ऋतु परिवर्तन र सूर्यका ११ वर्षे चक्रले यसमा महत्वपूर्ण भूमिका खेल्ने मानिन्छ।
मंगलका दुई साना चन्द्रमाहरू छन्,- फोबोस र डिमोस। यी दुवै चन्द्रमा आकारमा निकै साना भएकाले गोलाकार देखिँदैनन्। फोबोस करिब २२ किलोमिटर, डिमोस करिब १२ किलोमिटर व्यासको मात्र हुन्छन्।
मंगलको दिन लम्बाइ पनि पृथ्वीभन्दा धेरै फरक छैन। पृथ्वीको एक दिन करिब २४ घण्टा भएजस्तै, मंगलको एक दिन २४ घण्टा ३७ मिनेट २२ सेकेन्ड हुन्छ। मानिसहरूलाई अँध्यारोमा राख्दा शरीरको जैविक घडी २४ घण्टाभन्दा बढेर मंगलको दिनसँग मिल्दोजुल्दो हुने अनुसन्धानहरूले देखाएका छन्, जुन अचम्मको कुरा हो।
मंगलको वायुमण्डलमा मिथेन पाइएकाले पनि वैज्ञानिकहरू उत्साहित छन्। मिथेन प्राकृतिक रूपमा जैविक वा भू-भौगोलिक प्रक्रियाबाट बन्न सक्छ, त्यसैले यसको वास्तविक स्रोत अझै रहस्यमय छ।
मंगल ग्रह पनि पृथ्वी जस्तै ढल्किएको कक्षमा घुम्छ। पृथ्वीको अक्षीय झुकाव २३ डिग्री भएजस्तै मंगलको २५ डिग्री ढल्काइका कारण त्यहाँ पनि ऋतु परिवर्तन हुने गर्छ।
