`

बर्ड फ्लु पुष्टि : काठमाडौंमा उच्च सतर्कता अपनाउन आग्रह

Nepal One HD १२ जेठ २०८३ ११:१७
जीवनशैली/स्वास्थ्य

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा कृषकलाई आग्रह गरेको छ। नगरपालिकाले सोमबार सूचना जारी गर्दै वडा नम्बर २, ३ र ४ मा संक्रमण देखिएको जानकारी दिएको हो।

नगरपालिकाका अनुसार संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा रहेका कुखुरा, हाँस, बट्टाई, लौकाटलगायत पन्छीहरू, अण्डा तथा दानालाई सुरक्षित रूपमा नष्ट गर्ने कार्य तीव्र पारिएको छ। संक्रमित क्षेत्रका पन्छीजन्य वस्तुहरू खाल्डोमा गाड्ने र सम्पूर्ण क्षेत्र निसंक्रमण गर्ने काम जारी रहेको जनाइएको छ।

संक्रमण नियन्त्रणका लागि पन्छी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशमा रोक लगाइएको छ। अत्यावश्यक अवस्थामा प्रवेश गर्नुपरे अनिवार्य रूपमा निसंक्रमण गर्नुपर्ने व्यवस्था लागू गरिएको नगरपालिकाले जनाएको छ। साथै, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नपाउने, प्रयोग गरिएका अण्डा राख्ने क्रेट पुनः प्रयोग नगर्नुपर्ने तथा फार्मको प्रवेशद्वारमा चुना वा निसंक्रामक औषधि राखिएको फुटबाथ अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको छ।

नगरपालिकाले कृषकलाई खोरभित्र जाँदा छुट्टै बुट र एप्रोन प्रयोग गर्न तथा दैनिक रूपमा खोर निसंक्रमण गर्न आग्रह गरेको छ। त्यस्तै फार्म परिसरमा कुकुर, बिरालो र मुसा जस्ता जनावरहरूको प्रवेश रोक्न तथा मरेका पन्छीहरूलाई तुरुन्त सुरक्षित तरिकाले गाड्न भनिएको छ।

पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था गरिएको छ। सर्वसाधारणलाई मासु तथा अण्डाजन्य परिकार राम्रोसँग पकाएर मात्र सेवन गर्न नगरपालिकाले सचेत गराएको छ।

यदि कुनै क्षेत्रमा ठूलो संख्यामा पन्छी बिरामी पर्ने वा मर्ने घटना देखिएमा तत्काल नजिकको पशु सेवा शाखा वा स्थानीय तहमा जानकारी गराउन पनि नगरपालिकाले अनुरोध गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *