`

प्रधानमन्त्री बालेन भेट्न इयूका राजदूत र मिसन प्रमुख सिंहदरबार पुगे [तस्वीरहरू]

Nepal One HD १२ जेठ २०८३ १२:००
फोटोफिचर

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सोमबार युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन्।

भेटवार्ताका लागि इयू सदस्य राष्ट्रका राजदूत तथा मिसन प्रमुखहरू सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्। प्रधानमन्त्री कार्यालयमा हुने उक्त भेटमा नेपाल–इयू सम्बन्ध, विकास सहकार्य तथा समसामयिक कूटनीतिक विषयमा छलफल हुने जनाइएको छ।

प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटका क्रममा नेपालको वर्तमान प्राथमिकता, आर्थिक तथा विकासका एजेन्डा, द्विपक्षीय सम्बन्ध विस्तार र सहकार्यका विविध आयामबारे जानकारी आदानप्रदान हुनेछ।

त्यस्तै नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट तत्काल बाहिर नल्याई अन्तर्राष्ट्रिय समर्थन कायम राख्ने विषयमा पनि पहल गरिने बताइएको छ। साथै, युरोपेली सङ्घको हवाई सुरक्षा सम्बन्धी ‘कालोसूची’ बाट नेपाललाई हटाउने विषयमा समेत छलफल हुने बुझिएको छ।

नेपालको नागरिक उड्डयन क्षेत्र सुधार, हवाई सुरक्षाको स्तर वृद्धि तथा अन्तर्राष्ट्रिय मापदण्ड पालनाका विषयमा सरकारले गरिरहेका प्रयासबारे पनि प्रधानमन्त्रीले जानकारी गराउने तयारी रहेको स्रोतले जनाएको छ।

यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए। उक्त भेटमा पनि नेपालका समसामयिक राजनीतिक, आर्थिक र कूटनीतिक विषयमा छलफल भएको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *