`

लागूऔषधका ३१ तस्कर पक्राउ

Nepal One HD १२ जेठ २०८३ १२:१२
अपराध

पर्सा। भारतसँगको खुला सीमाका कारण पर्सामा लागूऔषध सेवन र तस्करी दुवै बढ्दै गएको देखिएको छ । पर्सा प्रहरीले वैशाख महिनामा मात्रै ३१ जना लागूऔषध तस्करलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरूबाट ८ किलो ४ सय ग्राम गाँजा, १६ ग्राम ४ मिलिग्राम ब्राउन सुगर, ४ किलो ३१ ग्राम चरेस तथा ३० हजार ५ सय १७ वटा ट्रामाडोल ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

गत शनिबार राति पनि पर्सा प्रहरीले खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको थियो । ना ३९ प २५३२ नम्बरको स्प्लेन्डर मोटरसाइकलमा भेडियाहीबाट मिलनचोकतर्फ आउँदै गरेका वीरगन्ज–३२ परसवाका २० वर्षीय राहुल सिंह र बारा जितपुरसिमरा–७ खालका टोलका १९ वर्षीय नन्दन गुप्ताको साथबाट ८ ग्राम ४० मिलिग्राम लागूऔषध बरामद गरिएको हो ।

यसअघि वैशाख २५ गते भारतबाट नेपालतर्फ आउँदै गरेका चार जना लागूऔषध तस्करलाई वीरगन्ज–१६ स्थित शंकराचार्य गेट चेकपोस्टबाट पक्राउ गरिएको थियो । प्रहरीले ६ सय मिलिग्राम खैरो हेरोइनसहित २७ वर्षीय विकासकुमार साह र २३ वर्षीय कविन पराजुलीलाई नियन्त्रणमा लिएको थियो । त्यस्तै ५ ग्राम खैरो हेरोइन र शून्य दशमलव २५ मिलिग्राम सेतो हेरोइनसहित २० वर्षीय सागर घिमिरे र २३ वर्षीया पूजा जिम्बा पनि पक्राउ परेका थिए ।

त्यसको भोलिपल्ट पनि प्रहरीले ३ ग्राम ३७ मिलिग्राम खैरो हेरोइनसहित २९ वर्षीय अन्जन थापा र १९ वर्षीय रोमश बम्जनलाई पक्राउ गरेको थियो । साथै ५३ वटा प्रतिबन्धित ट्याब्लेटसहित ३७ वर्षीय राजु बनियाँ र ५२ वर्षीय अलिहदन मियाँलाई पनि नियन्त्रणमा लिइएको थियो ।

पर्सा प्रहरीले लागूऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान’ सञ्चालन गरेपछि दैनिकजसो साना स्तरका लागूऔषध तस्कर पक्राउ पर्न थालेका छन् । प्रहरीका अनुसार वीरगन्ज कारागारमा कैद सजाय भुक्तान गरिरहेका कैदीबन्दीमध्ये झण्डै आधाजसो लागूऔषध मुद्दासँग सम्बन्धित छन् । पछिल्लो समय लागूऔषध कारोबारमा महिलाको संलग्नता पनि बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको छ ।

भारतसँगको खुला सीमा लागूऔषध तस्करीको मुख्य कारण बन्दै गएको छ । सीमावर्ती क्षेत्रमा सक्रिय तस्करी सञ्जालका कारण युवापुस्तामा लागूऔषध प्रयोगको समस्या थप गम्भीर बन्दै गएको सरोकारवालाहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *