`

इजरायली आक्रमण : लेबनानमा १२ जनाको मृत्यु

Nepal One HD १२ जेठ २०८३ १२:१५
प्रमुख खबर

एजेन्सी। लेबनान को पूर्वी तथा दक्षिणी क्षेत्रमा इजरायली लडाकु विमानले मंगलबार श्रृङ्खलाबद्ध हवाई आक्रमण गर्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

रिपोर्टहरूका अनुसार इजरायल ले दक्षिणी लेबनानका टायर र बिन्ट जेबिल जिल्लाका विभिन्न सहरलाई लक्षित गर्दै हवाई आक्रमण गरेको हो। आक्रमणपछि प्रभावित क्षेत्रमा त्रास फैलिएको छ भने स्थानीय बासिन्दाहरू सुरक्षित स्थानतर्फ सर्न थालेका छन्।

यसैबीच, बेरुतको दक्षिणी उपनगरमा समेत आक्रमण विस्तार गर्न सकिने इजरायली चेतावनीपछि विस्थापित नागरिकहरूको आवागमन बढेको जनाइएको छ। स्थानीय सञ्चारमाध्यमहरूले धेरै परिवारले रातारात सुरक्षित क्षेत्र खोज्न थालेको उल्लेख गरेका छन्।

लेबनानको जनस्वास्थ्य मन्त्रालयअन्तर्गतको जन–स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार मार्च २ यता इजरायली आक्रमणमा परी हालसम्म तीन हजार १८५ जनाको मृत्यु भइसकेको छ भने नौ हजार ६३३ जना घाइते भएका छन्।

अप्रिल १६ देखि लागू भएको युद्धविराम सम्झौतापछि पनि दक्षिणी लेबनानमा इजरायलले आक्रमण जारी राखेको आरोप लागिरहेको छ। बढ्दो हिंसा र मानवीय संकटका कारण अन्तर्राष्ट्रिय समुदायको चिन्ता समेत बढेको छ।

क्षेत्रीय सुरक्षा अवस्था झन् जटिल बन्दै गएपछि मे १५ मा दोस्रो पटक ४५ दिनका लागि युद्धविराम अवधि थप गरिएको थियो। तर त्यसपछि पनि आक्रमण नरोकिएकाले युद्धविरामको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *