`

डोजर त्रासका कारण हृदयघातले मृत्यु भएको भन्दै सांसद यादवको ध्यानाकर्षण

Nepal One HD १२ जेठ २०८३ १४:१८
प्रमुख खबर

काठमाडौं। प्रतिनिधिसभा सदस्य रेखाकुमारी यादव ले महोत्तरीको गौशाला नगरपालिका–५ मा बस्ती हटाउने नाममा देखाइएको डोजरको त्रासका कारण एक स्थानीयवासीको मृत्यु भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले लगातार घर भत्काइने, बस्तीमा डोजर चलाइने सूचना फैलिँदा स्थानीयवासी अत्यधिक मानसिक तनावमा परेको बताइन् ।

उनका अनुसार सोही तनावका कारण ६२ वर्षीय विनोद साह हृदयघातको शिकार भई मृत्यु भएको हो ।

सांसद यादवले डोजर चल्ने हल्ला र प्रशासनिक दबाबका कारण साह गम्भीर तनावमा पुगेको दाबी गर्दै उपचारका क्रममा उनको निधन भएको संसदलाई जानकारी दिइन् । उनले भूमिहीन, सुकुम्बासी तथा गरिब नागरिकमाथि मानवीय संवेदनाविपरीत व्यवहार भइरहेको आरोपसमेत लगाइन् ।

उनले विकासका नाममा नागरिकलाई त्रसित बनाउने, बस्ती हटाउने तथा अमानवीय व्यवहार गर्ने कार्य तत्काल रोक्न सरकारसँग माग गरिन् । साथै घटनाबारे सत्यतथ्य छानबिन गरी पीडित परिवारलाई राहत तथा न्याय सुनिश्चित गर्न पनि उनले आग्रह गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *