परेश रावल र निर्माण पक्षबीच विवाद,‘हेरा फेरी ३’ अन्योलमा
काठमाडौं । बलिउडको चर्चित कमेडी फिल्म शृंखला ‘हेरा फेरी’ को तेस्रो भाग ‘हेरा फेरी ३’ निर्माण प्रक्रिया फेरि अन्योलमा परेको छ ।
लामो समयदेखि चर्चामा रहेको यो फिल्म कलाकार र निर्माण पक्षबीचको विवादका कारण अझै छायांकनमा जान सकेको छैन ।
फिल्मका मुख्य कलाकारमध्ये एक अभिनेता परेश रावलले पुनः फिल्मबाट अलग हुने संकेत दिएपछि निर्माण प्रक्रिया थप जटिल बनेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसअघि पनि समय अभावको कारण देखाउँदै उनले फिल्ममा काम गर्न असमर्थ रहेको बताएका थिए । त्यसपछि निर्माण पक्ष र उनीबीच विवाद सुरु भएको थियो ।
रिपोर्टअनुसार फिल्मका लागि अग्रिम पारिश्रमिक लिइसकेपछि पनि छायांकनका लागि समय नदिएको आरोप लगाउँदै अभिनेता अक्षय कुमारको निर्माण कम्पनीले परेश रावलविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको थियो । त्यसयता दुवै पक्षबीच सम्बन्ध चिसिएको बताइएको छ ।
यसैबीच, निर्देशक प्रियदर्शनले पनि पहिलो पटक सार्वजनिक रूपमा यस विषयमा प्रतिक्रिया दिएका छन् ।
भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले परेश रावलले फिल्ममा काम नगर्ने संकेत दिएको र आफूले लिएको पारिश्रमिक १५ प्रतिशत ब्याजसहित फिर्ता गर्ने प्रतिबद्धता जनाएको बताए ।
प्रियदर्शनका अनुसार मुद्दा दायर गरिएपछि परेश रावल भावनात्मक रूपमा असन्तुष्ट बनेका छन् । उनले अब पूर्ण रूपमा फिल्म छाड्ने वा पुनः फर्किने भन्ने विषय स्पष्ट भएपछि मात्र छायांकन प्रक्रिया अघि बढाइने बताए ।
‘हेरा फेरी’ शृंखलामा परेश रावलले निर्वाह गर्दै आएको ‘बाबु राव गणपत राव आप्टे’ पात्रलाई दर्शकले अत्यधिक रुचाएका छन् ।
अक्षय कुमार, सुनील शेट्टी र परेश रावलको त्रयीलाई नै फिल्मको मुख्य आकर्षण मानिने भएकाले उनको अनुपस्थितिमा फिल्म निर्माण चुनौतीपूर्ण बन्न सक्ने चर्चा बलिउडमा भइरहेको छ ।
सन् २००० मा प्रदर्शन भएको पहिलो ‘हेरा फेरी’ र त्यसपछि आएको दोस्रो श्रृंखलाले भारतीय सिनेमामा कमेडी विधामा विशेष लोकप्रियता हासिल गरेका थिए ।
तर तेस्रो भाग भने पटक–पटक विवाद, कलाकार परिवर्तन र निर्माण ढिलाइका कारण दुई वर्षभन्दा बढी समयदेखि रोकिएको अवस्थामा छ ।
