एआई-निर्देशित मिसाइल परीक्षण गरेर ‘दक्षिण’ तर्साउँदै ‘उत्तर-कोरिया’
काठमाडौं। उत्तर कोरियाले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिमा आधारित मिसाइल तथा आर्टिलरी रकेट परीक्षण गरेको दाबी गरेको छ।
उत्तर कोरियाली नेता किम जोङ उनकै निरीक्षणमा ट्याक्टिकल ब्यालिस्टिक मिसाइल, लामो दूरीका बहु-प्रक्षेपण आर्टिलरी रकेट तथा एआई-निर्देशित सटिक क्रुज मिसाइलहरूको परीक्षण गरिएको त्यहाँको सरकारी समाचार संस्था ‘कोरियन सेन्ट्रल न्युज एजेन्सी’ (केसीएनए) ले जनाएको हो।
केसीएनएका अनुसार यी परीक्षण आधुनिक युद्धको आवश्यकता अनुसार हतियार प्रणालीलाई थप उन्नत बनाउन गरिएको हो। परीक्षणका क्रममा विशेष मिसन वारहेडयुक्त ट्याक्टिकल ब्यालिस्टिक मिसाइलको क्षमता, लामो दूरीका आर्टिलरी रकेटहरूको विश्वसनीयता तथा एआई-आधारित क्रुज मिसाइलहरूको सटिकता मूल्याङ्कन गरिएको बताइएको छ।
उत्तर कोरियाली नेता किम जोङ उनले परीक्षणपछि हतियार प्रणाली र स्वचालित प्रक्षेपण प्रविधिलाई आधुनिक युद्धअनुसार सफलतापूर्वक स्तरोन्नति गरिएको दाबी गरेका छन्।
उनका अनुसार दक्षिण कोरियासँगको सीमावर्ती क्षेत्रमा तैनाथ गरिने क्रुज मिसाइलहरूमा सटीक नेभिगेशन प्रणाली र एआई-आधारित नियन्त्रण प्रविधि जडान गरिएको छ। ती मिसाइलहरू १०० किलोमिटरसम्मको दूरीमा रहेका लक्ष्यमा प्रहार गर्न सक्षम रहेको दाबी पनि गरिएको छ।
दक्षिण कोरियाको राजधानी सोल उत्तर र दक्षिण कोरियाबीचको असैनिक क्षेत्रबाट १०० किलोमिटरभन्दा कम दूरीमा पर्छ। उत्तर कोरियाले लामो समयदेखि दक्षिण कोरियालाई आफ्नो प्रमुख शत्रुका रूपमा चित्रण गर्दै आएको छ।
विश्लेषकहरूका अनुसार उत्तर कोरियाले मिसाइलको अन्तिम चरणको मार्ग निर्देशनमा एआई प्रयोग गरिएको कुरा पहिलोपटक सार्वजनिक रूपमा स्वीकार गरेको हो।
एआई-आधारित प्रणालीले रियल-टाइम डाटा विश्लेषण गरेर लक्ष्य पहिचान तथा मिसाइललाई लक्ष्यतर्फ निर्देशित गर्न सहयोग पुर्याउने बताइएको छ।
असान इन्स्टिच्युट फर पोलिसी स्टडीजका सैन्य विज्ञ याङ युकेका अनुसार उत्तर कोरियाले एआईको प्रयोग विशेषगरी लक्ष्य पहिचान र मार्ग निर्देशन प्रणालीमा केन्द्रित गरेको देखिन्छ।
त्यस्तै, कोरिया इन्स्टिच्युट फर नेशनल युनिफिकेशनका विश्लेषक होङ मिनले उत्तर कोरियाले विद्यमान डिजिटल मार्ग निर्देशन प्रणालीलाई स्वचालित लक्ष्य पहिचान प्रविधिसँग संयोजन गरेको हुन सक्ने बताएका छन्।
यद्यपि, यसको वास्तविक प्राविधिक स्तर स्वतन्त्र रूपमा पुष्टि गर्न भने कठिन रहेको उनीहरूको भनाइ छ।
उत्तर कोरियाले पछिल्ला वर्षहरूमा लामो दूरीका ब्यालिस्टिक मिसाइल र आणविक क्षमता विस्तारसँगै परम्परागत तथा ट्याक्टिकल हतियार प्रणालीलाई पनि तीव्र रूपमा आधुनिकीकरण गर्दै आएको छ।
पछिल्लो परीक्षणलाई त्यसै रणनीतिक अभियानको निरन्तरताका रूपमा हेरिएको छ।
