`

इजरायलले माग्यो २३०० नेपाली कामदार [सूचनासहित]

Nepal One HD १३ जेठ २०८३ ११:४०
प्रमुख खबर

काठमाडौं । वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मानिने इजरायलले नेपाली कामदारका लागि नयाँ माग खुलाएको छ।

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा कार्य गर्न वैदेशिक रोजगार विभागले कुल २३०० जनाका लागि दरखास्त आह्वान गरेको हो।

विभागले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार कुल कोटामध्ये ६० प्रतिशत अर्थात् १३८० महिला र ४० प्रतिशत अर्थात् ९२० पुरुष कामदार छनोट गरिनेछ। छनोट भएका कामदारले इजरायलका विभिन्न समूहगत आवास तथा व्यक्तिगत अपार्टमेन्टमा रहेका वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरूको स्याहार-सुसारमा सहयोग गर्नुपर्नेछ।

विभागले उम्मेदवारका लागि निश्चित योग्यता र मापदण्डसमेत तोकेको छ। आवेदन दिन इच्छुक व्यक्तिको उमेर कम्तीमा २५ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्नेछ। त्यस्तै, शारीरिक योग्यताअन्तर्गत न्यूनतम १.५ मिटर उचाइ र कम्तीमा ४५ किलोग्राम तौल हुनुपर्ने उल्लेख गरिएको छ।

शैक्षिक योग्यताका हकमा कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको हुनुपर्नेछ। यदि सो योग्यता नभएमा १०+२ वा सो सरह उत्तीर्ण गरी नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट ‘केयर गिभिङ’ सम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएको हुनुपर्ने विभागले जनाएको छ।

यसका अतिरिक्त, उम्मेदवार यसअघि इजरायल गएर काम नगरेको हुनुपर्ने तथा उनका नजिकका परिवारका सदस्य हाल इजरायलमा बसोबास वा रोजगारीमा संलग्न नरहेको हुनुपर्ने सर्त पनि राखिएको छ।

सूचनाअनुसार इजरायल जाने नेपाली कामदारले मासिक न्यूनतम ५ हजार ८ सय ८१ दशमलव ५० इजरायली मुद्रा तलब पाउनेछन्। यसबाहेक ओभरटाइम सुविधा, वार्षिक बिदा तथा खानाको सुविधा पनि उपलब्ध गराइने उल्लेख छ। इजरायली कानुनअनुसार आवासको व्यवस्था रोजगारदाताले मिलाउने भए पनि त्यसको निर्धारित खर्च भने कामदार स्वयंले व्यहोर्नुपर्नेछ।

सुरुआती करार अवधि एक वर्षको हुने र आवश्यकताअनुसार अधिकतम पाँच वर्षसम्म थप गर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ।

इच्छुक उम्मेदवारले वैदेशिक रोजगार विभागको अनलाइन पोर्टलमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने म्याद आजदेखि २१ दिन अर्थात् २०८३ असार ७ गते दिउँसो १२ बजेसम्म तोकिएको छ।

आवेदनका लागि राहदानी, हालसालै खिचिएको फोटो, शैक्षिक प्रमाणपत्र, तालिमसम्बन्धी प्रमाणपत्र तथा नेपाल प्रहरीले जारी गरेको चारित्रिक प्रमाणपत्र अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ।

विभागका अनुसार प्राप्त आवेदनमध्ये न्यूनतम मापदण्ड पूरा गरेका उम्मेदवारहरूको विवरण ‘नेमचेक’ प्रक्रियाका लागि इजरायल पठाइनेछ। त्यसपछि इजरायलबाट स्वीकृत भएर आएका उम्मेदवारमध्ये गोलाप्रथामार्फत अन्तिम छनोट गरिने जनाइएको छ। विभागले सम्पूर्ण प्रक्रिया पारदर्शी र निष्पक्ष हुने दाबी गरेको छ।

यस रोजगारीका लागि लाग्ने हवाई भाडा, स्वास्थ्य परीक्षण, बिमा, कल्याणकारी कोष तथा अभिमुखीकरण तालिमको खर्च भने कामदार आफैँले व्यहोर्नुपर्नेछ। विभागले हवाई भाडा प्रचलित बजार मूल्यअनुसार हुने जनाएको छ।

साथै, विभागले कुनै पनि बिचौलिया वा प्रलोभनमा नपर्न र आधिकारिक सूचनाका आधारमा मात्र प्रक्रिया अघि बढाउन सबैलाई आग्रह गरेको छ।

आवेदन आह्वान गरिएको सूचना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *