इजरायली आक्रमणमा ३१ लेबनानीको मृत्यु
काठमाडौं ।इजरायलका प्रधानमन्त्री बेन्जामीन नेतान्याहूले हिजबुल्लाहविरुद्धको सैन्य कारबाही अझ तीव्र बनाउने चेतावनी दिएपछि लेबनानमा भीषण हवाई आक्रमण भएको छ। लेबनानको दक्षिणी र पूर्वी क्षेत्रमा गरिएको पछिल्लो आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको जनाइएको छ। मृतकमध्ये केही बालबालिका पनि रहेका छन्।
इजरायली सेनाले अप्रिलमा युद्धविराम सुरु भएयताकै सबैभन्दा ठूलो बमबारी गरिएको दाबी गरेको छ। सेनाका अनुसार एकै रातमा हिजबुल्लाहका १०० भन्दा बढी ठेगाना तथा लडाकुहरूलाई निशाना बनाइएको थियो। मंगलबार बसेको सुरक्षा बैठकमा प्रधानमन्त्री नेतान्याहुले लेबनानमा इजरायलको सुरक्षा पहुँच र सैन्य उपस्थिति अझ मजबुत बनाइने बताएका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि हिजबुल्लाहको प्रभाव क्षेत्र मानिने बेरुतका दक्षिणी उपनगरहरूमा त्रास फैलिएको छ। हजारौँ स्थानीयवासी सुरक्षित स्थानतर्फ जान सहर छोडिरहेका छन्।
यसैबीच, लेबनानको मशघरा गाउँमा भएको आक्रमणमा थुप्रै घर ध्वस्त भएका छन्। भग्नावशेषबाट ११ जनाको शव निकालिएको छ भने ७ वर्षीय एक बालकलाई जीवितै उद्धार गरिएको बताइएको छ। उक्त घटनामा बालकका बुबा र दुई दिदीबहिनीको मृत्यु भएको छ।
दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन्। इजरायली सेनाले लेबनानी नागरिकलाई केही नयाँ क्षेत्र खाली गर्न निर्देशन दिएको छ भने हिजबुल्लाहले इजरायली सेनाका तीन सैन्य चौकी र ब्यारेकमा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ।
गत मार्च २ देखि जारी द्वन्द्वमा हिजबुल्लाहको आक्रमणबाट हालसम्म २३ इजरायली सैनिक र एक ठेकेदारको मृत्यु भएको छ। यता, इजरायली आक्रमणका कारण लेबनानमा कम्तीमा ३ हजार १ सय ८५ जनाले ज्यान गुमाइसकेका छन्।
