`

सुनुवाइ जारी : अदालतमा ‘लालीबजार’ हेर्दै न्यायाधीशहरू

Nepal One HD १३ जेठ २०८३ १३:४८
चलचित्र

काठमाडौं। वैशाख २५ गतेदेखि प्रदर्शनमा रहेको नेपाली फिल्म ‘लालीबजार’ सम्बन्धी विवादमाथि उच्च अदालत पाटनमा सुनुवाइ जारी रहेको छ। 

विवादको टुंगो लगाउने क्रममा अदालतले फिल्मको सफ्ट कपी झिकाएर प्रत्यक्ष रूपमा हेर्ने प्रक्रिया अघि बढाएको हो।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र अच्युत कुइँकेलले इजलासमै फिल्मको सफ्ट कपी हेर्न सुरु गरेका छन्। अदालतले यसअघि नै फिल्मको सक्कल सफ्ट कपी पेश गर्न आदेश दिएको थियो। जसअनुसार निर्माण पक्षले इजलासमा फिल्म उपलब्ध गराएको हो।

निर्माण पक्षका एक सदस्यका अनुसार अदालतमा उपस्थित हुनु पर्दा फिल्मको प्रचार-प्रसार प्रभावित भएको छ।

निर्माण पक्षका एक सदस्यले भने, ‘हामीलाई अहिले प्रमोसनको समयमा अदालतमा उपस्थित हुनुपरेको छ, जसले मानसिक रूपमा दबाब परेको छ। अहिले न्यायाधीशज्यूहरूले फिल्म हेरिरहनुभएको छ।’

अभिनेत्री स्वस्तिमा खड्का, निर्माता तथा अभिनेता रविन्द्रसिंह बानियाँ, निर्देशक प्रदीप भट्टराईलगायत निर्माण टिम पनि अदालत परिसरमा उपस्थित रहेका छन्।

उच्च अदालत पाटनले रोशनी वादी नेपालीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै मंगलवार नै प्रमाण मिसिल झिकाउने आदेश दिएको थियो। सोहीअनुसार फिल्मको सफ्ट कपी इजलासमै हेर्ने र त्यसपछि मात्र अन्तरिम आदेशबारे निर्णय लिने प्रक्रिया अघि बढाइएको हो।

अदालतले फिल्म हेरेपछि प्रदर्शन रोक्ने, संशोधन गर्ने वा निरन्तरता दिने विषयमा आवश्यक आदेश दिन सक्ने बताइएको छ।

यसैबीच, ‘लालीबजार’ले हालसम्म दुई लाखभन्दा बढी दर्शक आकर्षित गरिसकेको छ। भने करिब ६ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *