स्वास्थ्य बीमा : आकस्मिकबाहेकका सेवा कटौती
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आकस्मिकबाहेकका सबै सेवा स्थगन गर्ने निर्णय गरेको छ।
बोर्डले बुधबार जारी गरेको परिपत्रअनुसार यो निर्णय यही जेठ १६ गतेदेखि लागू हुने छ। अर्को निर्णय नआएसम्मका लागि निजी अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाअन्तर्गतका नियमित उपचार, परीक्षण र अन्य गैरआकस्मिक सेवाहरू पूर्ण रूपमा रोकिने भएका छन्।
स्वास्थ्य बीमा बोर्डको यही जेठ ११ गते बसेको बैठकको निर्णयअनुसार उक्त व्यवस्था लागू गर्न लागिएको परिपत्रमा उल्लेख छ। बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिद्वारा जारी परिपत्रमा संस्थागत वित्तीय दवाब अत्यधिक बढेकाले सेवा व्यवस्थापन अस्थायी रूपमा पुनःसंरचना गर्नुपरेको जनाइएको छ।
निर्णयसँगै स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी अस्पतालहरूबाट दिइँदै आएका नियमित उपचार सेवामा प्रत्यक्ष असर पर्ने भएको छ। परीक्षण, नियमित उपचार, फलोअप तथा अन्य गैरआकस्मिक सेवाहरू अब तत्कालका लागि उपलब्ध हुने छैनन्।
तर आकस्मिक (इमर्जेन्सी) सेवा भने पूर्ववत रूपमा सञ्चालन हुने बोर्डले स्पष्ट पारेको छ।
यस निर्णयपछि बीमित नागरिकहरू नियमित उपचारका लागि सरकारी स्वास्थ्य संस्थामा निर्भर हुनुपर्ने अवस्था बढ्ने अनुमान गरिएको छ।

