टीओबीको नेतृत्व सुधन गुरुङ : आयोग
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले संसद् भवनमा भएको आगजनी प्रयासमा टीओबी ग्रुपको संलग्नता रहेको विश्लेषण गरेको छ। आयोगको प्रतिवेदनमा टीओबी लेखिएका कालो टी–सर्ट लगाएका तथा हात र शरीरमा ‘टीओबी’ लेखिएको ट्याटु खोपेका १५/२० जनाको बाइकर समूहले विद्यार्थीहरूलाई ढालका रूपमा प्रयोग गरेको उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार, बबरमहल हुँदै बिजुलीबजार पुल पार गरेर नयाँ बानेश्वरस्थित एभरेष्ट होटलअगाडि पुगेका प्रदर्शनकारीहरूको संख्या २० देखि २५ हजारसम्म पुगेको थियो। सोही समयमा टीओबी लेखिएका कालो टी–सर्ट लगाएका तथा शरीरमा सोही समूहको ट्याटु खोपेका व्यक्तिहरूको बाइकर समूह त्यहाँ पुगेको र उनीहरूले भिडलाई थप उत्तेजित बनाएको आयोगको निष्कर्ष छ।
आयोगले हामी नेपाली संस्थाका सुधन गुरुङले भिडको नेतृत्व लिएपछि प्रदर्शन थप आक्रोशित र हिंसात्मक बनेको उल्लेख गरेको छ। प्रतिवेदनमा भनिएको छ, “निज गुरुङले नेतृत्व लिएपछि प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा ब्यारिकेड तोड्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेका थिए। त्यसपछि सुरक्षा निकायसँग मुठभेड र झडप भई अवस्था हुलदंगामा परिणत भएको देखिन्छ।”
आयोगको विश्लेषणमा नवयुवा र विद्यार्थीहरूलाई ढालका रूपमा प्रयोग गरिएको पनि उल्लेख छ। विशेषगरी टीओबी समूहले शान्तिपूर्ण प्रदर्शन कब्जा गर्दै विद्यार्थी तथा युवाहरूलाई अगाडि सारेर सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेको, संसद् भवनमा आक्रमण तथा आगजनीको प्रयास गरेको र त्यसबाट धनजनको क्षति पुगेको आयोगले प्रतिवेदनमा जनाएको छ।
