दक्षिणी लेबनान खाली गर्न इजरायलको आदेश
काठमाडौं। इजरायली सेनाले दक्षिणी लेबनानको ठूलो भूभाग तत्काल खाली गर्न आदेश जारी गरेको छ ।
नयाँ सैन्य आक्रमणको चेतावनी दिँदै इजरायली सेनाले उक्त क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषणा गरेको हो ।
इजरायल रक्षा बलले दक्षिणी लेबनानका बासिन्दालाई जहरानी नदीको उत्तरतर्फ जान निर्देशन दिएको छ । उक्त नदी इजरायली सीमाबाट करिब ४० किलोमिटर टाढा पर्छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो पछिल्लो युद्धविरामपछि जारी गरिएको सबैभन्दा ठूलो चेतावनी आदेश मानिएको छ ।
इजरायली सेनाले हिज्बुल्लाहमाथि पटक-पटक युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै अब कडा सैन्य कारबाही गरिने जनाएको छ । सेनाले दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा हवाई निगरानी तथा सैनिक गतिविधि समेत बढाएको बताइएको छ ।
यस आदेशले लेबनानको करिब १४ प्रतिशत भूभाग प्रभावित हुने अनुमान गरिएको छ । प्रभावित क्षेत्रमा बसोबास गर्ने हजारौँ नागरिक विस्थापित हुने जोखिम बढेको छ ।
यसअघि इजरायलले दक्षिणी सहर टायरमा हवाई आक्रमण गरेको थियो । त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि इजरायलमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।
हिज्बुल्लाहले आफ्ना लडाकु र इजरायली सैनिकबीच सीमावर्ती क्षेत्रमा झडप भएको दाबी गरेको छ ।
मध्यपूर्वमा बढ्दो तनावका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।
लेबनान-इजरायल सीमा क्षेत्रमा पुनः ठूलो द्वन्द्व भड्किन सक्ने आशंकासमेत बढेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन् ।
