`

सशस्त्रको गाडीले ठक्कर दिँदा ३ वर्षीय बालकको मृत्यु

Nepal One HD १४ जेठ २०८३ १३:२४
समाचार

रूपन्देही । कपिलवस्तु नगरपालिका–३ स्थित महिता चोकमा सशस्त्र प्रहरीको गाडीले टेम्पोलाई ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ।

सेमरीबाट तौलिहवातर्फ जाँदै गरेको लु प्र ०१००१ ह ३६७२ नम्बरको टेम्पोलाई सशस्त्र प्रहरीको गाडीले ठक्कर दिएको थियो। दुर्घटनामा कपिलवस्तु नगरपालिका-६ सेमरी निवासी अतिकूर रहमानका तीन वर्षीय छोरा महफुज मुसलमान गम्भीर घाइते भएका थिए।

उपचारका लागि बुटवलस्थित चौराहा अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा टेम्पो चालक कपिलवस्तु नगरपालिका-३ बर्गदवाका ६० वर्षीय शिवप्रसाद चौधरी गम्भीर घाइते भएका छन्। उनको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।

घटनामा घाइते भएका अन्य आठ जना भने सामान्य उपचारपछि घर फर्किएका छन्।

ठक्कर दिने सशस्त्र प्रहरीको गाडी र चालकलाई अहिलेसम्म नियन्त्रणमा नलिइएको भन्दै पीडित परिवारले गुनासो गरेका छन्।

बुधबार बिहान करिब ११ बजे भएको दुर्घटनापछि मृतक बालकको शव कपिलवस्तु अस्पतालमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *