`

बसभित्र युवतीको सुनको सिक्री लुट्ने चार जना पक्राउ

Nepal One HD १४ जेठ २०८३ १७:१६
अपराध

काठमाडौं। सार्वजनिक बसभित्र यात्रु युवतीको गलामा रहेको सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–७ का २९ वर्षीय जनक तामाङ, सोही स्थानका ३० वर्षीय मनकुमार तामाङ, ललितपुरको कोन्जोसोम गाउँपालिका–५ का २५ वर्षीय उमेश मुक्तान तथा काभ्रेको नमोबुद्ध नगरपालिका–७ का ३० वर्षीय अर्जुन तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार जेठ १३ गते कोटेश्वरबाट बल्खुतर्फ जाँदै गरेको सार्वजनिक बसमा यात्रा गरिरहेकी एक युवतीको गलाबाट सुनको सिक्री लुटिएको थियो ।

घटनापछि पीडितले प्रहरीलाई जानकारी गराएकी थिइन् । त्यसपछि प्रहरीले घटनास्थल वरपरका गतिविधि, सम्भावित संलग्न व्यक्तिहरू तथा विभिन्न सूचनाका आधारमा अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा आरोपितहरूलाई लुटिएको सुनको सिक्रीसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पक्राउ परेकामाथि लुटपाटसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पछिल्लो समय सार्वजनिक यातायातमा यात्रुहरूको भीडभाडको मौका छोपी सुनका गरगहना तथा मोबाइल लुटपाट गर्ने घटना बढ्दै गएकाले यात्रुलाई सतर्क रहन आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *