`

मन्दिरमा आगो लगाउँछु भन्ने परियार प्रहरीको नियन्त्रणमा

Nepal One HD १५ जेठ २०८३ १३:२०
अपराध

काठमाडौं। मठ-मन्दिरमा आगो लगाउने धम्की दिएको आरोपमा जनक परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१२ घर भएका २७ वर्षीय परियारलाई टोखा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार उनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ।

परियारले अनामनगरस्थित संवाद डबलीमा भएको एक कार्यक्रममा बोल्दै मठ-मन्दिरमा आगजनी गर्ने चेतावनी दिएका थिए। उनले समान अधिकार सुनिश्चित नभए देशभर विद्रोह हुन सक्ने चेतावनीसमेत दिएका थिए।

उनका ती भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको थियो।

परियारले दलित समुदायमाथि भइरहेको विभेद र गाउँमा उनीहरूको अवस्थाबारे टिप्पणी गरेका थिए। उक्त अभिव्यक्ति विभिन्न युट्युब च्यानलमार्फत सार्वजनिक भएपछि चासो बढेको देखिन्छ।

प्रहरीका अनुसार उनी हाल टोखा नगरपालिका-८ बानियाँटार क्षेत्रमा बसोबास गर्दै आएका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। आवश्यक प्रक्रिया पूरा गरेर कानुनी कारबाही अघि बढाइने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *