`

च्याम्पियन्स लिग : आर्सनल र पिएसजी भिड्दै

Nepal One HD १६ जेठ २०८३ १२:०८
खेलकुद

काठमाडौं। युरोपेली क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको उपाधिका लागि इंग्लिस क्लब आर्सनल र फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी) आज आमनेसामने हुँदैछन्।

हंगेरीको राजधानी बुडापेस्टमा हुने फाइनल खेल नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ।

यो खेल उपाधिको प्रतिस्पर्धा मात्र नभई,दुई फरक फुटबल दर्शनबीचको भिडन्तका रूपमा समेत हेरिएको छ। एकातिर बलियो रक्षात्मक संगठन र अनुशासित खेलका लागि परिचित आर्सनल छ भने अर्कोतर्फ आक्रामक शैली र गोल वर्षाका लागि चर्चित पिएसजी मैदानमा हुनेछ।

आर्सनल सन् २००६ पछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो। त्यसबेला लन्डन क्लब फाइनलमा पराजित भएको थियो। यसपटक भने प्रशिक्षक मिकेल आर्टेटाको नेतृत्वमा टोली इतिहास रच्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। क्लबले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन।

उता पिएसजी लगातार दोस्रो पटक उपाधि जित्ने अभियानमा छ। यदि फ्रान्सेली क्लबले उपाधि रक्षा गर्न सफल भयो भने च्याम्पियन्स लिग इतिहासमा लगातार दुई सिजन उपाधि जित्ने सीमित क्लबहरूको सूचीमा आफ्नो नाम थप्नेछ।

यो सिजनको तथ्यांक हेर्दा दुवै टोली फरक विशेषताका साथ फाइनलमा पुगेका छन्। पिएसजीले प्रतियोगिताभर ४४ गोल गर्दै सर्वाधिक गोल गर्ने टोलीको कीर्तिमान बनाएको छ। आर्सनलले भने उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै विपक्षीलाई न्यून अवसर दिएको टोलीका रूपमा चर्चा बटुलेको छ।

प्रिमियर लिगमा समेत आर्सनलको रक्षापंक्ति निकै प्रभावशाली देखिएको थियो। टोलीले सिजनभर न्यून गोल व्यहोर्दै उपाधि यात्रा सफल बनाएको थियो। नकआउट चरणमा पनि आर्सनलले विपक्षी आक्रमणलाई नियन्त्रणमा राख्दै फाइनलसम्मको यात्रा तय गरेको हो।

आर्सनलका पूर्व गोलरक्षक ग्राहम स्ट्याकले गोलकिपर डेभिड रायाको प्रदर्शन निर्णायक बन्न सक्ने बताएका छन्। उनका अनुसार रायाले टोलीलाई आत्मविश्वास प्रदान गर्ने मात्र होइन। कठिन क्षणमा खेलको दिशा बदल्ने क्षमता पनि राख्छन्।

स्ट्याकले भनेका छन्, ‘यदि रायाले आफ्नो उत्कृष्ट लय कायम राखे भने आर्सनलसँग उपाधि जित्ने वास्तविक सम्भावना छ। उनले टोलीलाई सुरक्षित महसुस गराउँछन् र महत्वपूर्ण क्षणमा खेल बचाउने क्षमता राख्छन्।’

उता पिएसजीको यात्रा सुरुदेखि नै उतारचढावपूर्ण रह्यो। प्रतियोगिताको प्रारम्भिक चरणमा प्रभावशाली प्रदर्शन गरे पनि टोली अपेक्षित स्थानमा रहन सकेन र नकआउट चरणमा पुग्न अतिरिक्त चुनौती सामना गर्नुपर्‍यो। तर त्यसपछि भने टोलीले आफ्नो स्तर देखायो।

पिएसजीले एएस मोनाको, चेल्सी, लिभरपुल र बायर्न म्युनिखजस्ता बलिया क्लबलाई पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो। यस यात्रामा प्रशिक्षक लुइस एनरिकेको रणनीति र खेलाडीहरूको आक्रामक प्रदर्शन महत्वपूर्ण रह्यो।

एनरिकेसँग व्यक्तिगत रूपमा पनि ठूलो उपलब्धि हासिल गर्ने अवसर छ। टोलीलाई उपाधि दिलाउन सफल भए उनी युरोपेली क्लब फुटबलमा तीन पटक च्याम्पियन्स लिग जित्ने प्रशिक्षकहरूको विशिष्ट समूहमा प्रवेश गर्नेछन्।

पिएसजीको आक्रमणमा उस्मान डेम्बेले, ख्भिचा क्वारात्स्खेलिया र डेजिरे डुएको त्रयी मुख्य आकर्षण रहनेछ। यी खेलाडीले प्रतियोगिताभर विपक्षी रक्षापंक्तिलाई निरन्तर दबाबमा राखेका छन्। उनीहरूको गति, सिर्जनशीलता र गोल गर्ने क्षमता पिएसजीको सबैभन्दा ठूलो बल मानिएको छ।

तर फाइनलअघि पिएसजीलाई केही चोटसम्बन्धी चिन्ताले पनि सताएको छ। प्रमुख रक्षक अशरफ हाकिमीको सहभागिता अनिश्चित रहेको छ भने गोलरक्षक लुकास शेभालिए पनि पूर्ण रूपमा फिट नरहेको बताइएको छ। उनीहरूको अनुपस्थितिले टोलीको सन्तुलनमा असर पर्न सक्ने अनुमान गरिएको छ।

आर्सनल पनि पूर्ण रूपमा समस्यामुक्त छैन। टोलीका प्रमुख रक्षक बेन ह्वाइट उपलब्ध नहुने लगभग निश्चित छ भने युरियन टिम्बर लामो समयदेखि चोटका कारण मैदानबाहिर रहेका छन्। उनको फाइनल खेल्ने सम्भावना न्यून रहेको बताइएको छ।

फाइनलमा दुवै टोलीका प्रशिक्षकहरूको रणनीति पनि उत्तिकै महत्वपूर्ण हुनेछ। आर्टेटाले संगठित रक्षासहित प्रतिआक्रमणको योजना बनाउन सक्ने अनुमान गरिएको छ भने एनरिकेले सुरुदेखि नै आक्रामक खेलमार्फत विपक्षीलाई दबाबमा राख्ने प्रयास गर्नेछन्।

युरोपेली फुटबलका लाखौं समर्थकको नजर अहिले बुडापेस्टमा केन्द्रित छ।  एकातिर पहिलो पटक च्याम्पियन्स लिग उपाधि जित्ने आर्सनलको सपना छ भने अर्कोतर्फ आफ्नो प्रभुत्व कायम राख्ने पिएसजीको चुनौती रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *