थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा अधिकारी
काठमाडौं । टिकटकर तुलसा अधिकारी (तुलसी अधिकारी)लाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरेर नेपाल ल्याएको छ ।
इन्टरपोलको सहयोगमा पक्राउ परेकी अधिकारीलाई शनिबार राति काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अधिकारीलाई थुनछेक प्रयोजनका लागि ललितपुर जिल्ला अदालतमा उपस्थित गराइने तयारी गरिएको छ ।
उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा यसअघि नै अदालतमा दायर भइसकेको छ ।
प्रहरीका अनुसार अधिकारी लामो समयदेखि फरार रहेकाले उनको खोजीका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिस जारी गरिएको थियो । सोही नोटिसका आधारमा थाइल्यान्डमा पक्राउ परेकी उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल ल्याइएको हो ।
सरकारी वकिल कार्यालयले २०८२ चैतमा अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी रहेका छन् ।
प्रकरणको सुरुवात ललितपुरका एक व्यवसायीले दिएको जाहेरीबाट भएको थियो । जाहेरीमा अधिकारीले आफूलाई विभिन्न आरोपमा फसाइदिने धम्की दिँदै लामो समयसम्म आर्थिक लाभ लिएको उल्लेख गरिएको छ ।
व्यवसायीले दिएको उजुरीअनुसार अधिकारीले बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर निरन्तर ‘ब्ल्याकमेलिङ’ गर्दै रकम असुलेको आरोप छ । उजुरीकर्ताको दाबीअनुसार अधिकारीले नगद तथा जिन्सी गरी करिब ४ करोड ५० लाख रुपैयाँ बराबरको सम्पत्ति लिएकी थिइन् ।
अनुसन्धानका क्रममा प्राप्त विवरणका आधारमा प्रहरी र सरकारी वकिल कार्यालयले ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा अघि बढाएका हुन् ।
अधिकारीलाई नेपाल ल्याइएसँगै अब अदालतले उनको थुनछेकबारे निर्णय गर्नेछ । अदालतको आदेशअनुसार उनी पुर्पक्षका लागि थुनामा जाने वा धरौटी तथा तारेखमा छुट्ने भन्ने टुंगो लाग्नेछ ।
