खुर्सानीको धुलो छर्केर लुटपाट गर्ने पक्राउ
काठमाडौं। काठमाडौँको सुकेधारामा एक व्यक्तिको आँखामा खुर्सानीको धुलो छर्केर सुनको सिक्री र मोबाइल लुटपाट गरी फरार रहेका एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ४० वर्षीय गणेश कार्की रहेका छन्। उनलाई प्रहरीले काठमाडौँको मनोहरा करिडोर क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार कार्की सुकेधारामा लुटपाटको घटना गरिसकेपछि फरार रहेका थिए। विशेष सूचनाका आधारमा खोजी अभियान चलाएको प्रहरीले उनलाई मनोहरा करिडोरबाट पक्राउ गर्न सफल भएको जनाएको छ।
पक्राउ गर्ने क्रममा कार्कीले प्रहरीमाथि समेत प्रतिरोध गरेको बताइएको छ। प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीको आँखामा खुर्सानीको धुलो छर्केर खुकुरी प्रहार गर्न खोजेका थिए।
स्थिति नियन्त्रणबाहिर जान सक्ने अवस्था देखिएपछि प्रहरीले गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ। गोली लागेपछि कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण संकलन भइरहेको छ भने लुटपाट तथा प्रहरीमाथि आक्रमण प्रयाससम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेको छ।
