`

प्रधानमन्त्रीको अभिव्यक्तिपछि बल्झिएको सुस्ता विवादमा गृहले भन्यो, ‘जानकारी छैन’

रामचन्द्र जाेशी १८ जेठ २०८३ १२:२७
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा नेपाल-भारत सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्तिपछि नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध गरेको छ।

सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार आइतबार साँझ भारतीय एसएसबीको टोली सुस्ता गाउँपालिका-५ स्थित निर्माणस्थलमा पुगेको थियो। उनीहरूले तटबन्ध निर्माण रोक्न दबाब दिएपछि काम रोकिएको छ।

गाउँपालिकाका अध्यक्ष उपाध्यायले भारतीय सुरक्षाकर्मीहरूको उपस्थितिपछि निर्माण कार्य रोकिएको पुष्टि गरे। उनका अनुसार करिब ४० देखि ५० जना भारतीय सुरक्षाकर्मी निर्माणस्थलमा पुगेर काम रोक्न चेतावनी दिएका थिए।

कटान र डुबानको उच्च जोखिममा रहेको सुस्ता क्षेत्रलाई जोगाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको करिब १४ करोड रुपैयाँ लागतमा नारायणी नदी किनारमा तटबन्ध निर्माण भइरहेको छ। उपाध्यायले प्रधानमन्त्री शाहको संसद् सम्बोधनपछि उत्पन्न भएको विवादले निर्माण कार्य रोकिएको बताए।

‘भारतीय पक्षले पहिलेदेखि नै सुस्ताको नेपाली भूमिमाथि दाबी गर्दै आएको थियो। तर तीन महिनादेखि त्यहाँ तटबन्ध निर्माणको काम भने भइरहेको थियो। निर्माण सम्पन्नको अन्तिम चरणमा थियौँ, तर प्रधानमन्त्रीको अभिव्यक्तिपछि काम अवरुद्ध भएको छ,’ अध्यक्ष उपाध्यायले नेपालवन एचडीसँग भने।

उनका अनुसार नारायणी नदीको कटानका कारण स्थानीय बासिन्दाले वर्षौँदेखि दुःख भोग्दै आएका छन्। पूर्वऊर्जामन्त्री कुलमान घिसिङको कार्यकालको अन्त्यतिर उक्त योजनाका लागि बजेट विनियोजन भएपछि निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको थियो।

त्यसपछि हामीले यही विषयमा नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालसँग कुराकानी गर्यौँ। उनका अनुसार भने नयाँ तटबन्धको काम सुरु गर्न लाग्दा अवरोध भएको हो। ‘पुरानो तटबन्ध निर्माणमा कुनै समस्या आएको थिएन। नयाँ सुरु गर्न लाग्दा अवरोध भएको भन्ने जानकारी आएको छ। हामी पनि समन्वय गरिरहेका छौँ,’ नेपालवन एचडीसँगको कुराकानीमा उनले भने।

साथै, नेपालले हिजो मात्रै भारतीय सुरक्षा फौज आएको कुरा गलत भएको दाबी गरे। ‘सुरक्षा टोली पहिले पनि थियो, तर हिजो मात्रै आएको भनिएको रहेछ, त्यो होइन,’ उनले भने।

यता गृहमन्त्रालय भने यो विषयमा औपचारिक जानकारी नभएको बताउँछ। गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार यो विषयमा अहिलेसम्म कुनै औपचारिक जानकारी प्राप्त भएको छैन।

‘अनौपचारिक रूपमा हामीले पनि सुन्यौँ, तर औपचारिक रूपमा कुनै जानकारी आएको छैन,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *