`

इबोला नियन्त्रणमा यात्रा प्रतिबन्ध हटाउन डब्लुएचओको आग्रह

Nepal One HD १८ जेठ २०८३ १३:५८
जीवनशैली/स्वास्थ्य

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले इबोला प्रकोपका कारण प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) र युगान्डामाथि लगाइएका यात्रा प्रतिबन्ध तथा सीमा नाका बन्द गर्ने निर्णय पुनर्विचार गर्न सम्बन्धित देशहरूलाई आग्रह गरेका छन्।

कंगोको उत्तरपूर्वी इतुरी प्रान्तको राजधानी बुनियामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्ता प्रतिबन्धहरूले महामारी नियन्त्रणका प्रयासलाई थप जटिल बनाउने बताए।

उनका अनुसार यात्रा रोकावटले पारदर्शिता घटाउने मात्र होइन, मानवीय जीवन बचाउन आवश्यक पर्ने आपसी विश्वासमा समेत असर पुर्‍याउँछ।

टेड्रोसले इबोला प्रभावित समुदायसँग प्रत्यक्ष संवाद गर्न तथा अवस्था बुझ्न आफू प्रभावित क्षेत्रमा पुगेको उल्लेख गर्दै बिरामीहरूले समयमै गुणस्तरीय स्वास्थ्य सेवा पाएमा निको हुने सम्भावना रहने बताए। हालसम्म इबोला विरुद्ध आधिकारिक खोप वा विशेष औषधि पूर्ण रूपमा उपलब्ध नभएको पनि उनले स्पष्ट पारे।

यसैबीच, कंगो र युगान्डामा संक्रमणका नयाँ तथ्यांक सार्वजनिक भएका छन्। युगान्डाको स्वास्थ्य मन्त्रालयका अनुसार राजधानी कम्पालामा थप दुई नयाँ संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या नौ पुगेको छ।

कंगोका स्वास्थ्य मन्त्री रोजर काम्बाले हालसम्म ९०० नमुना परीक्षण गरिएकोमा २६० जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। उनका अनुसार देशले अब दैनिक २०० देखि ३०० नमुना परीक्षण गर्न सक्ने क्षमता विकास गरेको छ।

मन्त्री काम्बाले विगतको अनुभव र भाइरसको प्रकृतिका आधारमा आगामी चारदेखि छ महिनाभित्र महामारी नियन्त्रण गर्ने लक्ष्य राखिएको बताएका छन्। साथै, इतुरी, उत्तर किभु र दक्षिण किभु प्रान्तमा भाइरसलाई सीमित राख्ने र अन्य क्षेत्रमा फैलिन नदिने सरकारको मुख्य प्राथमिकता रहेको उनले स्पष्ट पारे।

डब्लुएचओले भने यात्रा प्रतिबन्धभन्दा पनि परीक्षण, सम्पर्क ट्रेसिङ र स्वास्थ्य सेवा सुदृढीकरणलाई प्राथमिकता दिन आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *